09/10/2026, 16:38:45
बिहिबार, भदौ २५, २०८३

वादी र दलित समुदायका अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ: मुख्यमन्त्री खगराज भट्ट


कैलाली, भदौ २५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकार वादी र दलित समुदायको अधिकार सुनिश्चित गर्न पूर्ण रूपमा गम्भीर रहेको बताउनुभएको छ।

कैलालीको घोडाघोडीमा आयोजित सुदूरपश्चिम प्रदेश वादी उत्थान विकास समितिको सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले आगामी बजेट तथा कार्यक्रमलाई गरिब, असहाय र भुइँमान्छेको हितमा लक्षित गरिने स्पष्ट पार्नुभयो।

उहाँले राज्यमा अझै पनि असमानता र विभेद कायम रहेकाले त्यसको अन्त्यका लागि आगामी बजेटमा ‘दलित अधिकार दशक’ का रूपमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। दलित समुदायभित्रको छुवाछुत र विभेद अन्त्य गर्दै उनीहरूको आर्थिक तथा सामाजिक जीवनस्तर सुधार्नका लागि ठोस योजना र कार्यक्रम अघि बढाइने उहाँको भनाइ थियो।

मुख्यमन्त्री भट्टले दस वर्षे जनयुद्धले विभेद अन्त्यमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै सबै समुदायको पहिचान, आत्मसम्मान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। समानता, सामाजिक न्याय र सुशासनलाई प्राथमिकतामा राखेर प्रदेशको औचित्य पुष्टि हुने गरी आगामी बजेट निर्माण भइरहेको उहाँले उल्लेख गर्नुभयो।