09/10/2026, 09:05:44
बिहिबार, भदौ २५, २०८३

भोटेकोशी बाढीले बगाएको नुवाकोटको देवीघाटमा सेनाद्वारा एक्रो ब्रिज जडान सम्पन्न


काठमाडौँ, भदौ २५ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सफलतापूर्वक सम्पन्न गरेको छ। सेनाको टोली निरन्तर खटिएर पाँच दिनअघि सुरु गरेको पुल जडानको काम छोटो समयमै पूरा गर्न सफल भएको हो।

नेपाली सेनाले वैकल्पिक पुल जडान कार्य सम्पन्न गरेसँगै आज (बिहीबार) देखि नै पैदलयात्रीका लागि आवत-जावत खुला गरिने भएको छ। त्यसैगरी, आवश्यक परीक्षण पश्चात् शुक्रबारदेखि सवारीसाधनसमेत सञ्चालनमा ल्याइने जनाइएको छ।

बाढीका कारण पक्की पुल बगेपछि नुवाकोट तथा आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। सेनाले द्रुत गतिमा पुल निर्माण गरिदिएपछि अब स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई आवत-जावत र दैनिक उपभोग्य वस्तु ओसार-पसारमा ठूलो राहत पुग्ने भएको छ।