11/18/2026, 00:34:38
मङ्गलबार, मङि्सर ०२, २०८३

म्याग्दीमा मङ्सिर ९ गते नेपथ्य लाइभ कन्सर्ट हुने : अग्रिम र विद्यार्थी टिकट मूल्य एक हजार रुपियाँ

सोभान इन्टरटेनमेन्टको आयोजनामा बेनीको खुलामञ्चमा हुन लागेको ‘नेपथ्य लाइभ इन बेनी’ कन्सर्टका लागि अहिलेसम्म तीन हजार टिकट बिक्री भइसकेको आयोजकले जनाएको छ।


म्याग्दी, मङ्सिर १ गते । नेपाली लोक संगीतको अत्यन्त लोकप्रिय ब्यान्ड नेपथ्यको ‘नेपाल टुर २०२६’ अन्तर्गत आगामी मङ्सिर ९ गते म्याग्दीको बेनीस्थित खुलामञ्चमा भव्य कन्सर्ट हुने भएको छ।

सोभान इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन हुने यस ‘नेपथ्य लाइभ इन बेनी, म्याग्दी’ कार्यक्रममा ब्यान्डका मुख्य गायक अमृत गुरुङसहितका कलाकारहरूले आफ्ना सदाबहार तथा चर्चित सांगीतिक कोसेलीहरू प्रस्तुत गर्नेछन्। साँझ ६ बजेबाट सुरु हुने यस सांगीतिक कार्यक्रममा म्याग्दी लगायत पर्वत, बागलुङ र आसपासका जिल्लाबाट समेत हजारौँ संगीतप्रेमीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजकले टिकट दर समेत सार्वजनिक गरेको छ। जसअनुसार अग्रिम (अर्ली बर्ड) र विद्यार्थीहरूका लागि टिकट मूल्य एक हजार रुपियाँ तोकिएको छ भने नियमित टिकटको मूल्य एक हजार पाँच सय रुपियाँ निर्धारण गरिएको छ।

संगीतप्रेमीहरूले नेपथ्यको आधिकारिक वेबसाइटमार्फत पनि अनलाइन टिकट खरिद गर्न सक्ने आयोजक सोभान इन्टरटेनमेन्टका सञ्चालक सोभन श्रेष्ठले जानकारी दिनुभयो। अहिलेसम्म तीन हजारभन्दा बढी टिकट बिक्री भइसकेको उहाँले बताए।

यस कन्सर्टले यस क्षेत्रमा सांगीतिक पर्यटनको विकास र प्रवर्धन गर्नुका साथै स्थानीय होटल, यातायात र व्यापारिक गतिविधिहरूलाई समेत चलायमान बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विश्वास व्यक्त गर्नुभएको छ।

विवरण तथ्य / जानकारी
कार्यक्रम नेपथ्य लाइभ इन बेनी, म्याग्दी (नेपाल टुर २०२६)
मिति र समय मङ्सिर ९ गते, साँझ ६:०० बजे
स्थान खुलामञ्च, बेनी, म्याग्दी
आयोजक सोभान इन्टरटेनमेन्ट (सञ्चालक: सोभन श्रेष्ठ)
टिकट मूल्य अग्रिम/विद्यार्थी: रु. १,००० र नियमित: रु. १,५००