11/18/2026, 00:34:40
मङ्गलबार, मङि्सर ०२, २०८३

निर्यातमुखी कफीको आन्तरिक खपत उच्च : आन्तरिक माग धान्न करोडौँको कफी आयात, २२ औँ राष्ट्रिय कफी दिवस मनाइँदै

देशभित्र कफी पारखी र क्याफेहरूको संख्या बढ्दै जाँदा आन्तरिक खपत उल्लेख्य रूपमा बढेको छ भने उत्पादनले माग धान्न नसक्दा करोडौँ रुपैयाँको कफी विदेशबाट आयात हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ।


काठमाडौँ, मङ्सिर १ गते । विगतमा मुख्यतया निर्यातमुखी बालीका रूपमा हेरिने कफीको खपत पछिल्लो समय मुलुकभित्रै अत्यधिक रूपमा बढेको छ। देशभित्र कफी पारखीहरूको संख्या दिनप्रतिदिन बढ्दै जाँदा उत्पादित कफीको ठुलो हिस्सा आन्तरिक बजारमै खपत हुने गरेको पाइएको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा कुल ७९० मेट्रिक टन कफी उत्पादन भएकोमा जम्मा ७१ मेट्रिक टन मात्र निर्यात भएको छ भने बाँकी सबै आन्तरिक बजारले खपत गरेको छ। आन्तरिक खपतको वृद्धिसँगै माग पूरा गर्न बाहिरी मुलुकबाट ठुलो परिमाणमा कफी आयातसमेत बढेको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा १९ करोड ४७ लाख १७ हजार रुपियाँ बराबरको २५९ मेट्रिक टन कफी आयात भएको छ भने सोही अवधिमा १४ करोड ४९ लाख ५७ हजार रुपियाँ बराबरको ७१ मेट्रिक टन कफी विदेश निर्यात भएको छ।

यसअघि आव २०८१/८२ मा १४ करोड ४१ लाख रुपियाँ बराबरको कफी आयात हुँदा ११ करोड ४३ लाख रुपियाँको निर्यात भएको थियो। बोर्डका प्रवक्ता दीपक खनालले देशका विभिन्न स्थानमा कफी सप (क्याफे) हरू खुल्ने क्रम बढेकाले आन्तरिक बजारमा कफीको माग र खपत निरन्तर उकालो लाग्दै गएको स्पष्ट पार्नुभयो।

कफीको बढ्दो मागलाई सम्बोधन गर्न र उत्पादन बढाउन बोर्डले ५० रोपनी जमिनमा चक्लाबन्दी खेती, नर्सरी स्थापनाका लागि ५० प्रतिशत अनुदान तथा राजमार्गकेन्द्रित १० रोपनी क्षेत्रफलमा नमुना कफी खेती सञ्चालनजस्ता कार्यक्रमहरू अगाडि बढाएको छ।

हाल नेपालका ४५ जिल्लामा कफी खेती विस्तार भइसकेको छ। आव २०८२/८३ मा ६ हजार १६६ हेक्टर क्षेत्रफलमा ७९० मेट्रिक टन कफी उत्पादन भएको छ, जुन अघिल्लो आवको तुलनामा बढी हो। नेपाली कफी प्रमुख रूपमा जापान, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, क्यानडा र भारततर्फ निर्यात हुने गरेको छ भने आयात हुने कफीको ठुलो हिस्सा भारतबाट आउने गरेको छ।

कफीको व्यावसायिक प्रवर्धन र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय कफी दिवस मनाइँदै छ।

आर्थिक वर्ष उत्पादन (मेट्रिक टन) आयात (रु. मूल्य / परिमाण) निर्यात (रु. मूल्य / परिमाण)
२०८२/८३ ७९० मेट्रिक टन रु. १९ करोड ४७ लाख (२५९ मेट्रिक टन) रु. १४ करोड ४९ लाख (७१ मेट्रिक टन)
२०८१/८२ ६४१ मेट्रिक टन रु. १४ करोड ४१ लाख (२०३ मेट्रिक टन) रु. ११ करोड ४३ लाख (६३ मेट्रिक टन)
खेती विस्तार ४५ जिल्ला कुल क्षेत्रफल: ६,१६६ हेक्टर प्रमुख निर्यात बजार: जापान, कोरिया, युरोप