काठमाडौँ, कात्तिक १७ गते । बहुप्रतिक्षित नेपाली चलचित्र ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै चलचित्रको यो नयाँ ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा चलचित्रका मुख्य पात्रहरूको भूमिका प्रष्ट पार्ने प्रयास गरिएको छ भने यसको सम्पूर्ण केन्द्रबिन्दुमा वरिष्ठ कलाकार हरिवंश आचार्य रहनुभएको छ। पृथ्वीमा रहेका आफ्ना भाइहरू दुःखी रहेको भन्दै पृथ्वीलोकमा अवतरण गर्नुभएका युधिष्टिर (हरिवंश)को भूमिकामा उहाँले समस्यामा परेकाहरूलाई उद्धार गर्ने र सभ्य समाज निर्माण गर्ने सन्देश दिन खोज्नुभएको छ।
ट्रेलरमा हरिवंश आचार्यले भीम, अर्जुन र सहदेव नाम दिएर आफ्ना चार भाइ बनाउँदै विभिन्न समस्यामा परेकाहरूलाई सहयोग गरेको देख्न सकिन्छ। छोटो कपडा लगाएकी क्यासिनोकी युवतीलाई देख्दा आङ ढाकिदिने जस्ता दृश्यहरूले चलचित्रले समाजमा शिष्टाचार र संस्कारको कुरा उठान गरेको सङ्केत गर्छ। समग्रमा यो ट्रेलरले अन्याय, अत्याचार र हिंसाविरुद्ध पाँच भाइ मिलेर गर्ने सङ्घर्ष र विद्रोहको कथा बोलेको छ।
वसन्त निरौलाको निर्देशनमा तयार भएको यो चलचित्र ‘सोसल ड्रामा’ रहेको लेखक सुशील पौडेलले स्पष्ट पार्नुभएको छ। महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई समकालीन नेपाली समाजको यथार्थसँग जोडेर चलचित्र तयार पारिएको छ। यसमा हरिवंश आचार्यका साथै महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया र प्रशान्त ताम्राकार लगायतका ख्यातिप्राप्त कलाकारहरूको अभिनय रहेको छ।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस सिनेमाका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ। श्याम तामाङको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र अर्जुन पोखरेलको संगीत रहेको यो चलचित्र आगामी कात्तिक २० गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ। सिनेमाको वितरणको जिम्मेवारी आरआर फिल्मस (रोहित कट्टेल र रत्न श्रेष्ठ) ले लिएको छ।
| विवरण | तथ्य / जानकारी |
| सिनेमाको नाम | पाँच पाण्डव (ट्रेलर-२ सार्वजनिक) |
| प्रदर्शन मिति | कात्तिक २०, २०८२ |
| निर्देशक | वसन्त निरौला |
| प्रमुख कलाकारहरू | हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौलालगायत |
| विधा / कथा | सोसल ड्रामा (महाभारतका पाण्डवको बिम्बमा आधारित समकालीन कथा) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








प्रतिक्रिया दिनुहोस्