11/04/2026, 15:52:42
बुधबार, कार्तिक १९, २०८३

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ जना सवारीचालक कारबाहीमा : मापसे गरी चलाउने ७९ जना कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको विशेष जाँचका क्रममा मादक पदार्थ सेवन, तीव्रगति र सङ्केत उल्लङ्घन गर्ने चालकहरू कारबाहीमा परेका छन्।


काठमाडौँ, कात्तिक १८ गते । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरूलाई कार्बाहीको दायरामा ल्याइएको हो। कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमनलाई व्यवस्थित बनाउने र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले उपत्यकाभरि निगरानी तथा जाँचलाई तीव्र पारिएको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना, सिसीटिभी निगरानीबाट पहिचान भएका ३५ जना, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने २३ जना र तीव्रगतिमा सवारी चलाउने ५८ जना रहेका छन्।

त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने १३ जना, लेन अनुशासन उल्लङ्घन गर्ने ८ जना, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २१ जना र एकतर्फी सडकमा नियमविपरीत सवारी हाँक्ने २ जनालाई पनि कारबाही गरिएको छ। अन्य विभिन्न कसुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३६९ जना चालकलाई समेत कारबाही गरिएको छ।

प्रहरी प्रवक्ता सुवेदीले ट्राफिक कारबाहीको मुख्य उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै आम नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको स्पष्ट पार्नुभएको छ। विशेषगरी मापसे गरेर सवारी हाँक्ने, उच्च गति अपनाउने र ट्राफिक सङ्केतलाई बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम उच्च बनाउने भएकाले यस्ता गतिविधिहरूमाथि विशेष निगरानी राखिएको छ।

मुख्य सडक तथा अत्यधिक सवारी चाप हुने चोकहरूमा ट्राफिक प्रहरीले नियमित जाँच गर्नुका साथै सिसीटिभी क्यामेराको सहायताले समेत नियम उल्लङ्घन गर्नेहरूको पहिचान गरी कारबाही गर्दै आएको छ। प्रहरीले सडक अनुशासन कायम राख्न र सम्भावित दुर्घटनाबाट बच्न सबै सवारीचालकहरूलाई गम्भीर भएर ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

विवरण तथ्य / जानकारी
कुल कारबाहीमा परेका चालक ६०८ जना
मापसे गरी चलाउने ७९ जना
तिव्रगतिमा चलाउने ५८ जना
सिसीटिभीबाट पहिचान भएका ३५ जना
ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन २३ जना
अन्य विविध कसुरका चालक ३६९ जना