11/03/2026, 13:08:39
मङ्गलबार, कार्तिक १८, २०८३

एभरटनको लगातार दोस्रो जित, चार दिनभित्रै न्यूक्यासल दुई पटक पराजित


काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभरटनले न्यूक्यासल युनाइटेडलाई १–० गोलअन्तरले पराजित गरेको छ। न्यूक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा सोमबार राति भएको खेलमा एभरटनका एकमात्र गोल ४९औ मिनेटमा थियर्नो ब्यारीले निर्णायक गोल गरे। पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। दोस्रो हाफ सुरु भएको चार मिनेटमै एभरटनले अग्रता लिएको थियो। टाइरिक जर्जको प्रहार न्यूक्यासलका गोलकिपर लुकास होर्निचेकबाट नियन्त्रणबाहिर गएपछि प्राप्त बललाई ब्यारीले जाली चुमाएका थिए। यो ब्यारीको जारी प्रिमियर लिग सिजनको चौथो गोल थियो। उनको गोललाई भिडियो सहायक रेफ्री (भीएआर) ले अफसाइडको सम्भावना जाँच गरेपछि मान्यता दिएको थियो। खेलको अन्त्यतिर न्यूक्यासल थप समस्यामा परेको थियो। वैकल्पिक खेलाडी ज्याकोब राम्सेले केही मिनेटको अन्तरमा लगातार दुई पहेँलो कार्ड पाएपछि रातो कार्ड सामना गर्दै मैदान छाडेका थिए। त्यसपछि १० खेलाडीमा सीमित न्यूक्यासलले बराबरी गोल फर्काउन सकेन।

यस जितसँगै एभरटनले प्रिमियर लिगमा तीन खेलको जितविहीन यात्रालाई अन्त्य गरेको छ। एभरटन ११ खेलपछि सातौँ स्थानमा उक्लिएको छ भने न्यूक्यासल १३औँ स्थानमा झरेको छ। विशेष कुरा के छ भने एभरटनले चार दिनभित्रै न्यूक्यासललाई दोस्रो पटक पराजित गरेको हो। यसअघि काराबाओ कपको चौथो चरणमा एभरटनले न्यूक्यासललाई ३–१ गोलले हराएको थियो। यसरी लगातार दुई खेलमा एभरटनसँग पराजित भएपछि न्यूक्यासललाई घरेलु मैदानमै अर्को निराशाजनक नतिजा बेहोर्नुपरेको छ।

डेपोर्टिभोसंग ओसासुनाला २–१ गोलअन्तरले पराजित

स्पेनिस फुटबल प्रतियोगिताअन्तर्गत डेपोर्टिभोले ओसासुनालाई २–१ गोलअन्तरले पराजित गरेको छ। खेलमा ओसासुनाले ३२औँ मिनेटमा एन्टे बुडिमिरको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा १–० ले पछि परेको डेपोर्टिभोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो।

डेपोर्टिभोका मारियो सोरियानो कारेनोले ६४औँ मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि खेलको ८७औँ मिनेटमा बिल नसोंगोले निर्णायक गोल गरेपछि डेपोर्टिभोले २–१ को जित सुनिश्चित गर्‍यो। यस जितसँगै डेपोर्टिभोले घरेलु मैदानमा महत्त्वपूर्ण तीन अंक जोडेको छ।

रोमाञ्चक ‘डेर क्लासिकर’मा बायर्न र डर्टमुन्डको २–२ गोलको बराबरी

काठमाडौँ । जर्मन फुटबलका दुई ठूला क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डबीचको चर्चित प्रतिस्पर्धा ‘डेर क्लासिकर’ रोमाञ्चक २–२ गोलको बराबरीमा सकिएको छ। सप्ताहान्तमा भएको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम समयसम्म जितका लागि प्रतिस्पर्धा गरेका थिए। खेलको ३८औँ मिनेटमा कोनराड लाइमरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। त्यसअघि दुवै टोलीले गोलका केही उत्कृष्ट अवसर सिर्जना गरेका थिए। माइकल ओलिसेको प्रहार बारमा लागेको थियो भने जोबे बेलिङ्घमको प्रहारमा बायर्नका गोलकिपर जोनास अर्बिगले उत्कृष्ट बचाउ गरेका थिए। दोस्रो हाफ सुरु भएको १० मिनेटपछि बायर्नले पेनाल्टी पाएको थियो। डर्टमुन्डका फेलिक्स निमेचाले पेनाल्टी क्षेत्रमा हातले बल छोएपछि रेफ्रीले बायर्नलाई पेनाल्टी दिएका थिए। तर, बायर्नका स्टार स्ट्राइकर ह्यारी केनको प्रहार बारमा लागेर फर्किएपछि अग्रता दोब्बर बनाउने अवसर गुम्यो। त्यसको फाइदा उठाउँदै डर्टमुन्डले ६०औँ मिनेटमा बराबरी गोल फर्कायो। सर्लु गुइरासीले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट प्रहार गर्दै खेल १–१ को अवस्थामा पुर्‍याए। तर, आठ मिनेटपछि बायर्नले पुनः अग्रता लियो। ह्यारी केनको हेडरबाट प्राप्त अवसरलाई डिफेन्डर दायोट उपामेकानोले गोलमा परिणत गरेपछि बायर्न २–१ ले अघि बढ्यो।

खेलको अन्तिम समयसम्म हार नमान्ने डर्टमुन्डले ८९औँ मिनेटमा पुनः बराबरी गोल गर्‍यो। फाबियो सिल्भाले पेनाल्टी क्षेत्रमा प्राप्त बललाई उत्कृष्ट रूपमा नियन्त्रण गर्दै तल्लो कुनामा प्रहार गरेपछि खेल २–२ को अवस्थामा पुग्यो। इन्जुरी समयमा बायर्नका युवा खेलाडी लेनार्ट कार्लले गरेको उत्कृष्ट घुमाउरो प्रहार बारमा लागेर फर्किएपछि बायर्नले जित निकाल्ने अवसर गुमायो। यसरी दुवै टोलीले दुई–दुई गोल गरेपछि जर्मन फुटबलको प्रतिष्ठित प्रतिस्पर्धा बराबरीमा टुंगियो। यस खेलको अर्को रोचक पक्ष भनेको खेलको प्रत्यक्ष प्रसारण प्लेमोबिल खेलौनाका पात्रहरू प्रयोग गरेर गरिएको वैकल्पिक प्रस्तुति पनि थियो। वास्तविक खेलाडीको सट्टा खेलौनाका पात्रमार्फत खेल देखाइएको उक्त प्रसारणले दर्शकको ध्यान खिचेको थियो।