– डा. चेतनाथ कणेल
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाली ’होमस्टे’ अर्थात् ’घरबास‘ को लहर चलेको छ । गाउँगाउँमा होमस्टे खोल्ने क्रम बढिरहेको छ । कतिपय प्रदेश तथा स्थानीय तहले समेत होमस्टे प्रवर्द्धनका नाममा रातारात अनुदान वितरण गरे । त्यसको परिणामस्वरूप कतिपय ठाउँमा आवश्यकताभन्दा बढी संख्यामा होमस्टे खुले । तर, होमस्टेको संख्या बढ्दैमा पर्यटकको संख्या बढ्ने होइन रहेछ । न त होमस्टे खुलेपछि त्यसले स्वतः आम्दानी र रोजगारीको सुनिश्चितता नै गर्ने रहेछ । फलस्वरूप, खुलेका कतिपय होमस्टेले काम पाएनन्, काम पाएका होमस्टेले पनि उचित लाभ लिन सकेनन् । यसरी अपेक्षा र उपलब्धिबीच ठूलो अन्तर देखिन थालेको छ । होमस्टेको अध्ययन गर्ने मेरो क्रम अझै जारी छ । विद्यावारिधि अनुसन्धान पूरा गरेपछि पनि विभिन्न ठाउँका होमस्टेलाई नजिकबाट हेरिरहेको छु, नियालिरहेको छु । यस क्रममा हरेकजसो ठाउँमा केही न केही समस्या देखिन्छन् ।
संख्या बढ्यो, तर गुणस्तर र लाभको सुनिश्चितता भएन
हो, होमस्टेका लागि कतिपय ठाउँमा पूर्वाधार राम्रा छन्, घरहरू व्यवस्थित छन्, पाहुना राख्ने तयारी पनि छ, तर पर्यटक पुग्ने क्रम न्यून छ । यसले गर्दा लगानी गरेका घरपरिवारले अपेक्षित लाभ लिन सकेका छैनन् । अर्कोतर्फ, कतिपय ठाउँमा पर्यटक पुग्ने सम्भावना हुँदाहुँदै पनि सरसफाइ, खानपान, शौचालय, पाहुना सत्कार र समग्र सेवाको गुणस्तरमा अपेक्षित सुधार हुन सकेको छैन । विशेषगरी होमस्टे सञ्चालनमा संलग्न महिलाहरूको क्षमता अभिवृद्धि, निरन्तर तालिम, व्यावहारिक सिकाइ र उद्यमशीलताको विकासमा ध्यान दिनुपर्ने देखिन्छ । होमस्टेमा महिलाको सहभागिता हुनु एउटा उपलब्धि हो, तर उनीहरूलाई दैनिक श्रममा मात्र सीमित नराखी निर्णय, व्यवस्थापन, बजार पहुँच र लाभको बाँडफाँडमा समेत सक्षम बनाउनु उत्तिकै आवश्यक छ ।
होमस्टेको विकास स्वाभाविक र योजनाबद्ध हुनुपर्छ । भूगोल, संस्कृति, पर्यटकीय आकर्षण, बजारको सम्भावना, स्थानीय समुदायको रुचि र उपलब्ध स्रोतको अध्ययन नगरी अनुदान बाँड्ने अनि होमस्टे खोल्न प्रोत्साहित गर्ने प्रवृत्तिले अन्ततः यस क्षेत्रलाई नै कमजोर बनाउँछ । होमस्टे खोल्नुभन्दा पहिले त्यहाँ पर्यटक किन आउँछन्, के हेर्न आउँछन्, के सिक्न आउँछन् र स्थानीयले के फरक अनुभव दिन सक्छन् भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ । संख्या होइन, गुणस्तर र स्थानीय लाभको सुनिश्चितता महत्वपूर्ण हो । नेपाली होमस्टेको आफ्नै विशेष पहिचान स्थापित गर्ने हो भने यसको वृद्धि स्वाभाविक र विकास पनि क्रमिक र योजनाबद्ध हुनैपर्छ । योजना बनाउँदा स्थानीय प्रमुख सरोकारवालाहरूको सहभागिता हुनैपर्छ ।
होमस्टे, होटेल र ‘होमटेल’बीचको अन्योल
एक दिन काठमाडौंको रामकोट नजिकै सेतो गुम्बा क्षेक्रमा घुम्ने त्रममा तीनतले पक्की घरमा राखिएको एउटा साइनबोर्डमा मेरो आँखा पर्यो । त्यसमा लेखिएको थियो– ‘सेकुवा घर, स्नुकर खेल तथा होमस्टे उपलब्ध छ ।’ मलाई त्यो साइनबोर्ड नै अलि असहज लाग्यो । सायद त्यो निजी होमस्टे थियो । किनकि सामुदायिक होमस्टेका आफ्नै नियम, मर्यादा र सञ्चालन पद्धति हुन्छन् । त्यहाँ साइनबोर्डमा जथाभावी सेवा र व्यवसायको सूची राख्नेभन्दा स्थानीय संस्कृति, खानपान, रहनसहन र मौलिक आतिथ्यलाई प्राथमिकता दिइन्छ । सेतो गुम्बा क्षेत्रको ‘होमटेल’ त एउटा उदाहरण मात्र भयो, यस्ता उदाहरण देशभरि थुप्रै छन् ।
सामान्यतः सामुदायिक होमस्टे कम्तीमा पाँच घर परिवार मिलेर सञ्चालन गर्ने अभ्यासमा आधारित हुन्छ । त्यहाँ पाहुनाका लागि एउटै दररेट कायम गरिन्छ । आएका पाहुनालाई उपलब्ध घरहरूमा बाँडेर राख्ने र पालैपालो पाहुना पाउने व्यवस्था हुन्छ । यसले गर्दा कुनै एक वा दुई घरमा मात्र आम्दानी केन्द्रित नभई समुदायका धेरै घरपरिवारले लाभ लिन सक्छन् । होमस्टेको सामुदायिक चरित्र र आपसी सहकार्यको भावना यहीँबाट स्थापित हुन्छ । स्याङ्जाको सिरुबारीले लामो समयदेखि यस प्रकारको मौलिकता र सामुदायिक व्यवस्थापनको उदाहरण प्रस्तुत गर्दै आएको छ । यो प्रशंसनीय पक्ष हो ।
तर कतिपय पर्यटकीय गाउँमा होमस्टे क्रमशः बढी व्यावसायिक हुँदै गएको देखिन्छ । व्यावसायिक हुनु आफैँमा नराम्रो होइन । पर्यटन व्यवसायमा आम्दानी, नाफा र लगानीको प्रतिफल आवश्यक हुन्छ । तर व्यावसायिकताको नाममा होमस्टेको मौलिकता र सामुदायिक चरित्र नै हराउँदै जानुचाहिँ अति चिन्ताको विषय हो । घान्द्रुकजस्ता स्थापित पर्यटकीय गन्तव्यमा होमस्टे र परम्परागत सामुदायिक आतिथ्यको स्वरूपमा आएको व्यावसायिक परिवर्तनलाई यसै सन्दर्भमा हेर्न सकिन्छ ।
मैले आफ्नो विद्यावारिधि अनुसन्धानका क्रममा होमस्टे र होटेलको बीचमा विकसित हुँदै गएको एउटा मिश्रित स्वरूपलाई ‘होमटेल’ नाम दिएको छु । होमटेल भनेको न त परम्परागत होमस्टेजस्तो, न त पूर्णरूपमा होटेलजस्तो । यसमा होमस्टेको नाम र पहिचान त राखिन्छ, तर सेवा, संरचना र सञ्चालन पद्धति क्रमशः होटेलमुखी हुँदै जान्छ । मेरो बुझाइमा होमस्टेको स्वाभाविक विकसित रूप होटेल वा रिसोर्ट हुन सक्छ, तर त्यसको मौलिकता गुमाएर होमस्टेकै नाममा फरक प्रकृतिको व्यवसाय सञ्चालन गर्नुचाहिँ ‘विकृत’ रूप हो, एक किसिमको भुलभुलैया हो । त्यसैले ‘होमटेल’ लाई होमस्टेको विकसित स्वरूपभन्दा पनि यसको मौलिकता कमजोर बनाउने वर्णशंकर स्वरूपका रूपमा हेर्नुपर्छ ।
साइनबोर्डमा होमस्टे लेख्ने, तर सेवा र सञ्चालनचाहिँ रेस्टुरेन्ट वा होटेलको जस्तो गर्ने हो भने त्यसले होमस्टेको मौलिक परिभाषा कसरी जोगाउँछ ? यदि कुनै घरपरिवारले मुख्यतः सेकुवा, रेस्टुरेन्ट, मनोरञ्जन वा व्यावसायिक आवास सेवा सञ्चालन गर्न चाहन्छ भने स्थानीय पालिका तथा सम्बन्धित निकायमा रेस्टुरेन्ट, होटेल वा रिसोर्टका रूपमा दर्ता गरेर व्यवसाय गर्नु उपयुक्त हुन्छ । होमस्टेको नाम र प्रतिष्ठालाई व्यावसायिक लाभका लागि मात्र प्रयोग गर्नु उचित होइन ।
अर्को समस्या सामुदायिक होमस्टेभित्रै देखिन्छ । कतिपय ठाउँमा समुदायका नाममा होमस्टे खोलिन्छ, तर लाभ भने एक–दुई जना टाठाबाठाको हातमा मात्र पुग्छ । अरू घरपरिवार पाहुना आउने प्रतीक्षामा बसिरहन्छन् । यसले सामुदायिक सहभागिता, समान अवसर र लाभको बाँडफाँडको मूल मान्यतालाई कमजोर बनाउँछ । अन्ततः सामुदायिक होमस्टेको अस्तित्व समाप्त भएर निजी होमस्टे, होमटेल वा होटेलमा परिणत हुने जोखिम रहन्छ । चितवनका पहाडी क्षेत्रमा पूर्वघोषित कतिपय होमस्टे–ग्राममा समेत यस्तो समस्या देखिन थालेको छ ।
इलामको श्रीअन्तु होमस्टेको अनुभव लिएर फर्केका कतिपय साथीहरूबाट पनि यस्तै प्रतिक्रिया सुन्न पाइन्छ– नाम त होमस्टे छ, तर खोजेको मौलिकता र खास पहिचान भेटिएन । ‘श्रीअन्तु’ जस्तो स्थापित पर्यटकीय गन्तव्यले पनि अब यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ । गाउँभरि होटेल र रिसोर्ट सञ्चालन गरेर पनि पर्यटन व्यवसाय फस्टाउन सक्छ । सोलुखुम्बुका लुक्ला तथा नाम्चे बजारले यस प्रकारको उदाहरण प्रस्तुत गरेका छन् ।
प्रश्न जटिल छ, होटेल, लज र अन्य पर्यटकीय सेवा सञ्चालन गर्नुमा कुनै आपत्ति छैन, तर होटेललाई होमस्टे भनेर चिनाउनुपर्ने आवश्यकता किन ?
एउटै गन्तव्यमा होटेल, रिसोर्ट र होमस्टे सञ्चालन भइरहेका ठाउँमा त स्थानीय प्रशासन र नियमनकारी निकायसमेत अन्योलमा परेको देखिन्छ । कसलाई होमस्टे भन्ने र कसलाई होटेल वा रिसोर्ट भन्ने ? यो अन्योल हटाउन अझ स्पष्ट परिभाषा, वर्गीकरण, मापदण्ड र नियम अवलम्बनको दह्रो अनुगमन प्रणाली आवश्यक छ भन्ने मेरो आग्रह छ ।
सिरुबारीको मौलिकता र नेपाली होमस्टेको भविष्य
सन् १९९७ मा स्याङ्जाको सिरुबारीबाट नेपाली सामुदायिक होमस्टे पर्यटनको सुरुआत हुँदा तत्कालीन महाअभियन्ता क्याप्टेन रुद्रमान गुरुङले एउटा विशिष्ट अवधारणा अघि सार्नुभएको थियो । उहाँसँग सन् २००० को दशकमा म पनि निक्कै नजिक भएँ । धेरै कुरा सिकियो, केही कुरा सिकाइयो पनि । उहाँको त्यो होमस्टे अवधारणा घरमा पाहुना राख्ने र आम्दानी गर्ने कुरामा मात्र सीमित थिएन । स्थानीय संस्कृति, परम्परा, खानपान, रहनसहन, सामुदायिक एकता र आत्मीय आतिथ्यलाई पर्यटकीय अनुभवका रूपमा प्रस्तुत गर्ने सोच त्यसको केन्द्रमा थियो । अहिले सिरुबारी होमस्टे सञ्चालनको जिम्मेवारी लगभग दोस्रो पुस्ताको हातमा पुगिसकेको छ । झन्डै २९ वर्षको यात्रामा पनि सिरुबारीले आफ्नो मौलिकताको मूल अंश जोगाइराख्न सक्नु हाम्रा लागि गर्वको विषय हो । सलाम छ सिरुबारीलाई !
सलाम यस अर्थमा कि, सिरुबारीको अनुभवबाट नेपाली होमस्टेले सिक्नुपर्ने कुरा धेरै छन् । होमस्टेको असल पाठशाला हो सिरुबारी । मेरो लागि पनि एक गतिलो पाठशाला बनेको हो सिरुबारी ।
यस अनुभवले भन्छ, होमस्टे भनेको एउटा घरमा पाहुना राख्ने व्यवस्था मात्र होइन, एउटा समुदायले आफ्नो पहिचान, संस्कृति र जीवनशैलीलाई आगन्तुकसँग बाँड्ने अवसर पनि हो । यसमा स्थानीय खानाको स्वाद, लोकसंस्कृति, परम्परागत घर, मौलिक वास्तुशैली, स्थानीय ज्ञान, प्रकृतिसँगको सम्बन्ध र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धति समेटिएका हुन्छन् । पाहुनाले पैसा तिरेर कोठा मात्र किनिरहेका हुँदैनन्, उनीहरूले एउटा फरक समाज र संस्कृतिसँग आत्मीय सम्बन्ध गाँस्ने अवसर प्राप्त पनि गरिरहेका हुन्छन् ।
वरिष्ठ पर्यटन तथा संस्कृतिविद् प्रा.डा. रमेशराज कुँवरले पर्यटनमा ‘अथेन्टिसिटी’ अर्थात् मौलिकता, आधिकारिकता र संस्कारगत निरन्तरताको विषयलाई विशेष महत्व दिँदै आउनुभएको छ । उहाँबाट पनि यस पंक्तिकारले धेरै कुरा सिक्ने मौका पाएको छ । वास्तवमा पर्यटनको एउटा प्रमुख आकर्षण नै यही ‘अथेन्टिसिटी’ हो । अर्थात् फरक सांस्कृतिक स्वाद र आतिथ्य हो । पर्यटकले आफ्नो घरमा पाइने जस्तै सेवा, उस्तै खाना र उस्तै संरचना खोजेर होमस्टे गाउँ पुग्ने होइनन् । उनीहरू फरक भूगोल, फरक संस्कृति, फरक खानपान र फरक जीवनशैलीको अनुभव लिन होमस्टे गाउँ पुग्छन् । त्यसैले स्थानीय मौलिकता होमस्टेको सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने कुरा हामी सबैले राम्रोसँग बुझ्नुपर्छ ।
यसका साथ, यहाँ केही प्रश्न उठाउनुपर्ने हुन्छ । होमस्टेको मौलिकता के हो भन्ने विषयमा हाम्रा स्थानीय समुदायहरूको बुझाइ पर्याप्त छ त ? होमस्टे प्रवर्द्धन गर्ने सरकारी निकाय र सहयोगी संस्थाले यस विषयमा समुदायलाई कति बुझाएका छन् ? होमस्टे सञ्चालकलाई व्यवसाय सञ्चालन गर्ने तालिम दिँदै गर्दा आफ्नो संस्कृति, परम्परा र पहिचान जोगाउने विषयमा पनि उत्तिकै सचेत गराइएको छ त ? कि हामीले एउटा ‘मेनु’ बनाएर तिनै खानेकुरा पकाउने र पस्कने तरिका सिकाएर मात्र फर्कने गरेका छौँ ? अनि, कतै हामीले भौतिक पूर्वाधार, भवन निर्माण, फर्निचर र अनुदान वितरणलाई मात्र होमस्टे विकास ठानेका त छैनौँ ? यी प्रश्नको उत्तर खोज्नु आजको आवश्यकता हो ।
गत वर्ष सम्पन्न मेरो विद्यावारिधि अनुसन्धानले पनि होमस्टेमा सिकाइ, क्षमता विकास, सामुदायिक सम्बन्ध, महिला सशक्तीकरण र स्थानीय ज्ञानको महत्वलाई विभिन्न कोणबाट उजागर गरेको छ । होमस्टे सञ्चालकले एकअर्काबाट सिक्ने, अग्रज पुस्ताबाट अनुभव ग्रहण गर्ने, बालबालिकाबाट नयाँ कुरा सिक्ने, सूचना प्रविधि र भाषागत क्षमता बढाउने तथा समुदायभित्रै सहकार्य गर्ने अवसर पाउनुपर्छ । होमस्टे एउटा निरन्तर सिकाइ (अर्थात् आधुनिक भाषामा भन्नुपर्दा सामुदायिक सिकाइ केन्द्र– ‘सीएलसी’) को थलो पनि हो । यसको विकास बाहिरबाट अनुदान ल्याएर भवन बनाइदिने कुराले मात्र सम्भव हुँदैन । स्थानीय मानिसको क्षमता, आत्मविश्वास, सिर्जनशीलता र सामूहिक नेतृत्व विकास हुनु पनि उत्तिकै आवश्यक छ ।
अब समय आएको छ, नेपाली होमस्टेको खास पहिचान जोगाउन र ‘होमटेल’ को वर्णशंकर पद्धतिलाई हाम्रा सांस्कृतिक ग्रामहरूको मौलिक स्वरूपमाथि हाबी हुन नदिन सचेत प्रयास गर्ने । होमस्टे चाहिन्छ, तर नामका लागि र रातारातको लहर चलाउन होइन । होमस्टेमा व्यावसायिक सफलता चाहिन्छ, तर मौलिकता र सामुदायिक चरित्रको मूल्यमा होइन । निजी उद्यमशीलता चाहिन्छ, तर सामुदायिक सहभागिता र लाभको बाँडफाँडलाई विस्थापित गरेर होइन ।
निष्कर्षमा,
नेपाली होमस्टेको भविष्य यसको संख्यामा होइन, गुणस्तर, मौलिकता, सामुदायिक स्वामित्व र स्थानीय लाभमा निर्भर हुनेछ । होमस्टेलाई ‘होमटेल’ वा होटेल बनाउने होडभन्दा होमस्टेलाई साँच्चिकै होमस्टे बनाउने अभियान आवश्यक छ । यसो गर्न सक्यौँ भने मात्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको होमस्टेको लहरले नेपालको पर्यटनमा विशिष्ट पहिचान स्थापित गर्न सक्नेछ । अनि, विदेशीले पनि ‘अहा नेपाली होमस्टे’ भन्न सक्ने वातावरण बन्ने छ । मैले आफ्नो विद्यावारिधि अनुसन्धानमा उठाएका यी र यस्तै विषयलाई क्रमशः आमपाठकसमक्ष पुर्याउने प्रयास गरिरहेको छु । नेपाली होमस्टेको वर्तमान अवस्था र भविष्यबारे सघन बहस सुरु हुनु आवश्यक छ । यस विषयका अरू केही महत्वपूर्ण पक्षहरू अर्को आलेखमा प्रस्तुत गर्नेछु । नेपाली होमस्टेको जय होस् !

(लेखक डा. कणेल पर्यटनविद् तथा नेपालको होमस्टे पद्धतिलाई करिब तीन दशकदेखि नजिकबाट नियालिरहेका व्यक्ति)
सम्पर्क इमेलः chetnathkanel@gmail.com
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






प्रतिक्रिया दिनुहोस्