काठमाडौँ, कात्तिक १६ गते । आगामी स्थानीय तहको निर्वाचनको मिति औपचारिक रूपमा घोषणा नभए पनि विभिन्न राजनीतिक दलहरूले आन्तरिक पूर्वतयारी र सङ्गठन सुदृढीकरणका गतिविधिहरू तिब्र रूपमा अगाडि बढाएका छन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलक्षित ‘क्यान्डिडेट क्लब’ मार्फत विभिन्न पदका लागि उम्मेदवारी आवेदन माग गरेको छ। प्रवक्ता जगदीश खरेलका अनुसार गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उल्लेख्य सङ्ख्यामा आवेदन परेका छन् भने पार्टीले निर्धारित विधि र प्रक्रियाअनुसार उम्मेदवार छनोटको काम अघि बढाइरहेको छ।
यता प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन उपसभापति पुष्पा भुसालको नेतृत्वमा ‘इलेक्सन ब्युरो’ गठन गरेको छ। कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीका अनुसार अब पार्टीभित्र पुरानो शैलीमा खल्तीबाट टिकट वितरण गर्ने प्रथा अन्त्य गरिनेछ। वडा तहदेखि नै क्रियाशील सदस्यहरूले छानेको लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिइने भएकाले टिकटका लागि नेताहरूको घरदैलो चहार्नुपर्ने बाध्यता हट्ने दाबी गरिएको छ।
नेकपा (एमाले) ले गत असारदेखि नै ‘मिसन पार्टी जागरण अभियान’ सञ्चालन गरिरहेको छ। प्रचार विभाग प्रमुख नीरज आचार्यले स्थानीय तहमा केन्द्रीय प्रतिनिधि खटाएर सदस्यता नवीकरण र पार्टी बैठकहरू सञ्चालन गरिएको जानकारी दिनुभयो। एमालेले आगामी मङ्सिर २ र ३ गते राष्ट्रिय भेला, मङ्सिर २८ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशनको मिति तय गरेको छ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले पनि कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्मका लागि राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियान अन्तर्गत केन्द्रीय नेताहरू पालिका तहमा पुगेर सङ्गठनको अवस्था बुझ्नुका साथै जनतामाझ लोकप्रिय र कार्यकर्ताद्वारा रुचाइएका सम्भावित उम्मेदवारहरूको सर्वेक्षण समेत गरिरहेका छन्। दलहरूको यो सक्रियताले आगामी निर्वाचनको सरगर्मी बढाएको छ।
| विवरण | तथ्य / जानकारी |
| रास्वपाको तयारी | ‘क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवारी आवेदन माग र छनोट प्रक्रिया सुरु |
| कांग्रेसको तयारी | उपसभापति पुष्पा भुसालको नेतृत्वमा इलेक्सन ब्युरो गठन, क्रियाशील सदस्यबाट उम्मेदवार चयन |
| एमालेको तयारी | मिसन पार्टी जागरण अभियान, मङ्सिरमा राष्ट्रिय भेला र वडा/पालिका अधिवेशन |
| नेकपाको तयारी | कात्तिक ७ देखि मङ्सिर २५ सम्म राष्ट्रिय जागरण अभियान तथा उम्मेदवार सर्वेक्षण |
| मुख्य उद्देश्य | आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन सुदृढीकरण |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








प्रतिक्रिया दिनुहोस्