08/27/2026, 15:31:01
बिहिबार, भदौ ११, २०८३
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)को प्रतिवेदनले सन् २००० यता हिन्दुकुश हिमालयका हिमनदीले बरफ गुमाउने दर दोब्बर भएको पुष्टि गरेको छ।

रसुवामा आकस्मिक बाढी: हिमपहिरो कारण हुनसक्ने


विवरण:
बुधबार बिहान रसुवा जिल्लामा आएको आकस्मिक बाढीले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा ठूलो असर पारेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) का अनुसार लेन्डे खोलामा बरफ-चट्टानको हिमपहिरो (ice-rock avalanche) खसेको कारण यो बाढी आएको हुनसक्छ।

बाढीको बहाव असाधारण रूपमा तीव्र रहेको थियो, जसले गर्दा गाल्छीमा ३० मिनेटभित्र पानीको सतह ९ मिटर सम्म बढेको छ भने मलेखुमा ७ मिटर सम्म बढेको छ। वैज्ञानिकहरूले नदीमा भग्नावशेष थुप्रिएर अस्थायी बाँध (landslide dam) बनेको हुनसक्ने र त्यसबाट दोस्रो बाढी आउन सक्ने चेतावनी दिएका छन्।

यसै जोखिमका कारण चीनको जिलोंग बन्दरगाह खाली गराउने आदेश जारी गरिएको छ। ICIMOD ले यो घटनाले हिमालय क्षेत्रमा बढ्दो क्रमिक विपद् (cascading disasters) र सीमापार सहकार्यको आवश्यकता देखाएको जनाएको छ। विज्ञहरूले जलवायु परिवर्तनले हिममण्डलसम्बन्धी विपद्हरूको आवृत्ति बढाएको बताउँदै यस घटनाको थप अनुसन्धान जारी राखेका छन्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)को प्रतिवेदनले सन् २००० यता हिन्दुकुश हिमालयका हिमनदीले बरफ गुमाउने दर दोब्बर भएको पुष्टि गरेको छ।
हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्, र सन् २००० यता बरफ गुमाउने दर दोब्बर भएको छ।

बुधबार बिहान नेपालको रसुवा जिल्लामा ठूलो आकस्मिक बाढी आएको छ। बाढीले भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान तथा ठूला ढुंगाहरूको शक्तिशाली बहाव ल्याएपछि तल्लो तटीय क्षेत्रमा थप सम्भावित असरबारे चिन्ता बढेको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) का महानिर्देशक पेमा ग्याम्त्सोले भन्नुभयो, “अत्यन्तै अचानक र अप्रत्याशित रूपमा आएको यस दुःखद् विपत्तिप्रति हामी गहिरो दुःखी छौँ। यस कठिन समयमा हामी नेपालका जनता र सरकारसँग ऐक्यबद्ध छौँ। हाम्रा विचार र प्रार्थना पीडित, उनीहरूका परिवार तथा प्रभावित सबैसँग छन्। सम्भव भएसम्म सहयोग उपलब्ध गराउन हामी प्रतिबद्ध छौँ।”

स्थानीय रिपोर्टअनुसार अगस्ट २६ बिहान करिब ९ बजे स्थानीय समयदेखि भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो। बाढीले नदीका किनारा नाघ्दै भोटेकोशी नदी हुँदै तलतिर बगेर त्रिशूली नदीमा प्रवेश गरेको थियो। यसको असर नुवाकोट र धादिङ जिल्लासम्म पुग्न सक्ने देखिएको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न भएको बरफ–चट्टानको हिमपहिरो (ice-rock avalanche) का कारण आएको हुनसक्ने विषयमा अनुसन्धान गरिरहेका छन्।

प्रभावित क्षेत्रबाट प्राप्त भिडियो र प्रारम्भिक सूचनाका आधारमा गरिएको मूल्याङ्कनले ठूलो परिमाणमा बरफ र चट्टानका भग्नावशेष भोटेकोशी नदीको सहायक नदी लेन्डे खोलामा खसेको हुनसक्ने देखाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार यस घटनाले अचानक ठूलो बहाव सिर्जना गरेको हुनसक्छ, जसले पानी, गेग्रान र ठूला ढुंगाहरूलाई तलतिर बगाएको हुनसक्छ।

जलविज्ञानसम्बन्धी अवलोकनले बाढीको बहाव असाधारण रूपमा तीव्र र शक्तिशाली रहेको देखाएको छ। गाल्छीमा त्रिशूली नदीको पानीको सतह ३० मिनेटभित्र करिब ९ मिटर सम्म बढेको र मलेखुमा पनि सोही अवधिमा करिब ७ मिटर बढेको बताइएको छ।

घटनाका क्रममा त्रिशूली नदी किनारमा रहेका पानी मापन गर्ने धेरै केन्द्रहरू क्षतिग्रस्त वा बगाएको बताइएको छ। यद्यपि गाल्छीको जलमापन केन्द्र भने सञ्चालनमै रहेको छ।

विज्ञहरूले नदीको कुनै साँघुरो खण्डमा भग्नावशेष थुप्रिएर अस्थायी रूपमा नदीको बहाव रोकिएको र त्यसबाट पहिरोले बनाएको बाँध (landslide dam) बनेको छ कि छैन भन्नेबारे पनि अध्ययन गरिरहेका छन्। यस्तो अवरोधका कारण जम्मा भएको पानी अचानक बाहिरिएमा थप जोखिम सिर्जना हुन सक्छ। सम्भावित अवरोधको आकार, स्थान र स्थायित्वबारे अधिकारी तथा वैज्ञानिकहरूले निरन्तर मूल्याङ्कन गरिरहेका छन्।

प्रारम्भिक भूकम्पीय अभिलेखको विश्लेषणमा विपत्तिको समयमा असामान्य संकेतहरू रेकर्ड भएको पाइएको छ। प्रभावित क्षेत्रबाट करिब १२ किलोमिटर टाढा रहेको जिलोंगको भूकम्पमापक केन्द्रले असामान्य संकेत देखाएको छ भने झाङ्मुस्थित अर्को केन्द्रले पनि असामान्य गतिविधि रेकर्ड गरेको छ।

वैज्ञानिकहरूले यी संकेतहरू सम्भावित हिमपहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने अध्ययन गरिरहेका छन्। तर हालसम्म भूकम्पीय गतिविधि र बाढीबीच कारणात्मक सम्बन्ध पुष्टि भएको छैन।

ICIMOD का जलवायु तथा वातावरणीय जोखिम प्रमुख छ्याङगोङ झाङले भन्नुभयो, “गत वर्षको रसुवा बाढीले ध्वस्त पारेको यही क्षेत्र फेरि जोखिममा परेको छ। लेन्डे खोलामा आएको हिमपहिरो बाढीको सम्भावित कारण मानिएको छ, तर यसको कारण अझै पुष्टि भएको छैन। नेपाल–चीन सीमाको माथिल्लो क्षेत्रमा अझै अवरोध रहेको अवस्थामा अधिकारीहरूले दोस्रो बाढी आउन सक्ने चेतावनी दिएका छन् र जिलोंग बन्दरगाहका लागि अहिले नै खाली गराउने आदेश जारी गरिएको छ।”

बाढीले प्रभावित क्षेत्रमा जलमापन केन्द्रलगायतका पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको बताइएको छ। भोटेकोशी तथा यससँग जोडिएका नदी प्रणाली आसपासमा धेरै जलविद्युत आयोजना समेत रहेका छन्।

ICIMOD का वरिष्ठ हिममण्डल विशेषज्ञ मोहम्मद फारुक आजमले भन्नुभयो, “हिममण्डलसँग सम्बन्धित विपद्हरूको बढ्दो आवृत्ति अहिले पहिलेभन्दा बढी स्पष्ट देखिन थालेको छ। परिवर्तनको गति यति तीव्र छ कि अहिले भइरहेका प्रयासहरू पनि त्यससँग तालमेल गर्न संघर्ष गरिरहेका छन्। लेन्डे खोलामा आज भएको विपत्तिले सीमापार जोखिमको सामना गर्न क्षेत्रीय सहकार्यलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता देखाएको छ। यस्तो अवस्थामा सरकारहरूले समन्वयात्मक रूपमा काम गर्नुपर्छ।”

ICIMOD का विज्ञहरूले घटनाको कारण र तल्लो तटीय क्षेत्रमा जारी जोखिम बुझ्न जलविज्ञान, भूकम्पीय गतिविधि, रिमोट सेन्सिङ तथा स्थलगत तथ्याङ्कको निरन्तर विश्लेषण गरिरहेका छन्।

मूल्याङ्कन जारी रहेकै बेला ICIMOD ले नेपालको प्रधानमन्त्रीको कार्यालय, वैज्ञानिक संस्थाहरू तथा चीनका साझेदार निकायहरूसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको जनाएको छ।

वैज्ञानिकहरूले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी, हिउँ, स्थायी रूपमा जमेको जमिन (permafrost) तथा पहाडी ढलानमा परिवर्तन भइरहेको भए पनि यस विशेष घटनामा जलवायु परिवर्तनको भूमिका के थियो भन्ने निष्कर्ष निकाल्न अहिले नै हतार हुने बताएका छन्।

थप भनाइहरू

छ्याङगोङ झाङ, ICIMOD:
“गत वर्षको रसुवा बाढीले ध्वस्त पारेको यही क्षेत्र फेरि जोखिममा परेको छ। लेन्डे खोलामा आएको हिमपहिरो सम्भावित कारण हो, तर यसको कारण अझै पुष्टि भएको छैन। नेपाल–चीन सीमाको माथिल्लो क्षेत्रमा अवरोध रहेकाले दोस्रो बाढी आउन सक्ने चेतावनी दिइएको छ र जिलोंग बन्दरगाहमा मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने आदेश जारी गरिएको छ।”

नीरा श्रेष्ठ प्रधान, जल तथा विपद् जोखिम न्यूनीकरण प्रमुख:
“हामीले लेन्डे खोलामा देखेको घटना वास्तवमै ठूलो विपत्ति हो। यसले हिन्दुकुश हिमालय क्षेत्रमा ICIMOD र साझेदारहरूले सञ्चालन गरिरहेका समुदायमा आधारित पूर्वसूचना प्रणालीको महत्त्व सम्झाउँछ। माथिल्लो क्षेत्रमा रहेका समुदायले तल्लो क्षेत्रमा रहेका मानिसलाई बाढीको सूचना दिएर उनीहरूलाई तयारी गर्न र सुरक्षित स्थानमा जान समय दिन सक्छन्। यस घटनामा सीमापार पूर्वसूचना प्रणाली दुई देशबीचको सहकार्यको उत्कृष्ट उदाहरण बन्न सक्छ। हाम्रो अनुभवले सूचना मात्र उपलब्ध गराउनु पर्याप्त हुँदैन भन्ने देखाउँछ। समुदायलाई उक्त सूचनालाई कसरी बुझ्ने, तयारी गर्ने र नआत्तिई त्यसअनुसार कदम चाल्ने भन्नेबारे पनि जानकारी हुन आवश्यक छ।”

बसन्तराज अधिकारी, त्रिभुवन विश्वविद्यालय, विपद् अध्ययन केन्द्र:
“हिमालयमा बहुविपद्को जोखिम बढिरहेको छ र लेन्डे खोलाको घटना त्यसैको एउटा उदाहरण हो। रसुवा र बेत्रावतीलगायत तल्लो क्षेत्रमा रहेका समुदायको जोखिम अवस्था तीव्र रूपमा परिवर्तन भइरहेको छ। यी समुदायलाई केन्द्रमा राखेर वास्तविक समयको जोखिमसम्बन्धी सूचना स्थानीय निर्णयकर्तासम्म पुर्‍याउनुपर्छ र त्यसलाई जीवन जोगाउने निर्णयमा परिणत गर्नुपर्छ।”

शाश्वत सान्याल, ICIMOD:
“लेन्डे खोलामा १४ महिनाभित्र दुईपटक बाढी आएको छ। यसपटक सम्भवतः नदी अवरुद्ध गर्ने हिमपहिरोका कारण अचानक ठूलो बहाव तलतिर आएको हुनसक्छ। थप सूचना प्राप्त हुँदै जाँदा यसको पुष्टि गर्न आवश्यक छ। यी क्रमिक रूपमा जोडिएका विपद् हुन्—हिममण्डलसम्बन्धी घटना केही घण्टामै बस्तीमा बाढीको रूपमा परिणत हुन्छ।”

मोहम्मद फारुक आजम, ICIMOD:
“हिममण्डलसँग सम्बन्धित विपद्हरूको बढ्दो आवृत्ति अहिले पहिलेभन्दा स्पष्ट देखिएको छ। परिवर्तनको गति यति तीव्र छ कि हाम्रा वर्तमान प्रयासहरू त्यससँग तालमेल गर्न सक्षम भइरहेका छैनन्। लेन्डे खोलाको आजको विपत्तिले सीमापार जोखिमको सामना गर्न क्षेत्रीय सहकार्य र सरकारहरूबीच संयुक्त तथा समन्वित कदमको आवश्यकता पुनः देखाएको छ।”