08/27/2026, 08:57:21
बिहिबार, भदौ ११, २०८३

युद्ध अन्त्य र अमेरिकी नाकाबन्दी हटाएपछि मात्र हर्मुज खुल्ने इरानको सर्त


काठमाडौँ, भदौ ११ गते । ओमानसँगको वार्तापछि इरानले हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्न र समुद्री बारुदी सुरुङ (माइन) हटाउनका लागि अमेरिका-इरान युद्धको अन्त्य तथा अमेरिकी नाकाबन्दी पूर्ण रूपमा हट्नुपर्ने सर्त राखेको छ।

इरानी उपविदेशमन्त्री काजेम घरिबाबादीका अनुसार यी सर्तहरू पूरा नभएसम्म कुनै पनि सैन्य वा व्यापारिक जहाजलाई निर्वाध आवागमन गर्न नदिने र अमेरिकी प्रयासको कडा प्रतिवाद गरिने स्पष्ट पारिएको छ।

इरान र ओमानका विदेशमन्त्रीहरूले जलमार्गमा अस्थायी नौवहन मार्ग र चरणबद्ध सुरक्षा ढाँचाबारे प्राविधिक छलफल अघि बढाएका छन्। यद्यपि, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि डिजिटल सम्पत्ति, सुन, उड्डयन र ढुवानी क्षेत्रलाई लक्षित गरी नयाँ आर्थिक प्रतिबन्धको घोषणा गरेपछि तनाव झनै बढेको छ।

विश्वको करिब पाँचौँ भाग तेल तथा प्राकृतिक ग्यास आपूर्ति हुने यो जलमार्गको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजार र व्यापारमा दीर्घकालीन असर पर्ने चिन्ता व्यक्त गरिएको छ।