

काठमाडौं, भदौ ११ – जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सम्भावित डुबान क्षेत्रका सर्वसाधारणलाई अझै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
केन्द्रका प्रवक्ता डा. राजन भट्टराईले बुधबार भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नदी किनार, तल्लो भूभाग र सम्भावित डुबान क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अर्को सूचना नआएसम्म सुरक्षित तथा अग्लो स्थानमा बस्न आग्रह गर्नुभएको छ।
“घटनाको कारणबारे थप स्पष्ट हुन सो क्षेत्रमा रहेका हिमताल, हिमनदी तथा समग्र हिम क्षेत्रको सूक्ष्म अध्ययन भइरहेको छ,” प्रवक्ता भट्टराईले भन्नुभयो, “नदी आसपास अनावश्यक आवतजावत नगर्न तथा महाशाखाबाट जारी हुने सूचना र निर्देशन पालना गर्नसमेत अनुरोध गर्दछु।”
प्रारम्भिक अध्ययन अनुसार, बिहान ८:४० बजे नेपाल-चीन सीमा क्षेत्र रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको ठूलो बाढी आएको हो।
तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको उक्त बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदीमा प्रवेश गरेको छ। यसले गर्दा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा गम्भीर जोखिम तथा सङ्कटपूर्ण अवस्था सिर्जना भएको सम्बन्धित प्राधिकरणले जनाएको छ।
बाढीका कारण नदी तटीय क्षेत्रका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। उद्धार तथा राहत कार्यका साथै जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन भइरहेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















