11/27/2026, 08:32:18
शुक्रबार, मङि्सर १२, २०८३

स्वास्थ्य उपचारका कार्यक्रमलाई राष्ट्रिय स्वास्थ्य बिमामा एकीकृत गरिने, ऐन संशोधन प्रक्रिया अघि

सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र मन्त्रालयका मिल्दाजुल्दा कार्यक्रम एउटै प्रणालीमा समेटिने; कर्मचारी, शिक्षक र स्वरोजगारलाई अनिवार्य आबद्ध गरिने


काठमाडौँ, मङ्सिर ११ गते । सरकारले विभिन्न सरकारी निकायमार्फत सञ्चालित स्वास्थ्य उपचारसम्बन्धी कार्यक्रमलाई राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत एकीकृत गर्ने तथा सुविधामा देखिएको दोहोरोपन हटाई सबै नागरिकलाई बिमाको दायरामा ल्याउने उद्देश्यले स्वास्थ्य बिमा ऐन संशोधन प्रक्रिया अघि बढाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ऐन तथा नियमावली संशोधनको प्रक्रिया अगाडि बढाउँदै सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका एकै प्रकृतिका मिल्दाजुल्दा स्वास्थ्य कार्यक्रमलाई एउटै प्रणालीमा समेट्ने विषयलाई प्राथमिकता दिएको छ ।

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेलले विभिन्न निकायले आफ्नै ढङ्गले स्वास्थ्य उपचार सुविधा दिँदा स्रोतमा दोहोरोपन देखिएको तथा आधारभूत स्वास्थ्य सेवाका कतिपय विषयमा एकातिर मन्त्रालयले बजेट पठाउने र अर्कोतिर अस्पतालले बिमा बोर्डमा दाबी गर्ने अवस्था रहेको बताउनुभयो ।

हालको ऐनले प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ योगदान र १ लाख रुपैयाँसम्मको उपचार सुविधा तोकेकाले फरक–फरक योजना चलाउन कठिनाइ भएको उल्लेख गर्दै डा. प्याकुरेलले संशोधनमार्फत बोर्डलाई आवश्यकता अनुसार योजना तथा सुविधा निर्धारण गर्ने अधिकार दिने र निजामती कर्मचारी, शिक्षक, सुरक्षा निकायका कर्मचारी, निजी क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई अनिवार्य आबद्ध गराउने कानुनी व्यवस्था स्पष्ट पारिने जानकारी दिनुभयो ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको नेतृत्वमा सरोकारवाला निकायसँग चरणबद्ध छलफल भइरहेको र मन्त्रालयले स्वास्थ्य बिमा ऐन संशोधन विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको तथा आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रस्तावित संशोधनमा योगदान गर्न नसक्ने नागरिकको उपचारको जिम्मेवारी राज्यले लिने, सेवा सञ्जाल विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय समेटिएको छ भने मन्त्री मेहताले बिमालाई उपचार खर्च व्यवस्थापनमा मात्र सीमित नराखी नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्दै आर्थिक अभावमा कोही उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार अघि बढाइएको बताउनुभयो ।

विषय / क्षेत्र मुख्य विवरण वा सार
एकीकरण र दोहोरोपन अन्त्य सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका मिल्दाजुल्दा स्वास्थ्य कार्यक्रमलाई राष्ट्रिय स्वास्थ्य बिमामा एकीकृत गर्ने तयारी; स्रोतको दोहोरोपन र दोहोरो दाबी रोक्ने लक्ष्य ।
ऐन संशोधन र अनिवार्य आबद्धता विधेयक कानुन मन्त्रालयमा पठाइएको र छिट्टै सङ्घीय संसद्मा दर्ता हुने; हालको रु. ३,५०० योगदान र रु. १ लाख सुविधाको सीमाभन्दा माथि बोर्डलाई योजना तय गर्ने अधिकार; निजामती, शिक्षक, सुरक्षाकर्मी, श्रमिक र स्वरोजगारलाई अनिवार्य आबद्धता (डा. सुवास प्याकुरेल) ।
राज्यको दायित्व र सुधार योगदान गर्न नसक्नेलाई राज्यबाट उपचार, सेवा सञ्जाल विस्तार तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण; आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नदिन जोड (मन्त्री निशा मेहता) ।