11/27/2026, 08:32:18
शुक्रबार, मङि्सर १२, २०८३

जन-जीविकालाई प्रमुख एजेन्डा बनाउने कांग्रेसको तयारी, समानान्तर गतिविधि रोक्न कानुनी प्रक्रिया अघि बढाइने

सभापति गगनकुमार थापाको अध्यक्षतामा बिपी स्मृति भवनमा जारी बैठकमा महँगी, विपद् राहत र भूमिहीन व्यवस्थापनमा जोड; करिब २० प्रतिशतलाई समेट्ने प्रयास

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, मङ्सिर ११ गते । नेपाली कांग्रेसले नागरिकका दैनिक समस्या र जन-जीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउने भएको छ भने पार्टीको आन्तरिक एकता सुदृढ गर्दै समानान्तर गतिविधि सञ्चालन गर्ने समूहलाई रोक्न व्यावहारिक तथा कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

सभापति गगनकुमार थापाको अध्यक्षतामा ललितपुरस्थित केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा मङ्गलबारदेखि सुरु भई शुक्रबारसम्म चल्ने केन्द्रीय कार्यसमिति बैठकमा जन-जीविका, समसामयिक राजनीति, सङ्गठन र आन्तरिक एकतामाथि छलफल भइरहेको छ ।

महामन्त्री डा. डिला सङ्ग्रौलाका अनुसार बैठकमा अधिकांश केन्द्रीय सदस्यले महँगी नियन्त्रण, विपत्पीडितको राहत तथा पुनर्स्थापना, भूमिहीन सुकुमवासीको व्यवस्थापन र नागरिकका आधारभूत आवश्यकताका विषय प्राथमिकतासाथ उठाउँदै राजनीतिक गतिविधि दैनिक समस्यासँग जोडिनुपर्ने धारणा राख्नुभएको छ ।

बैठकमा पार्टीभित्रका समानान्तर गतिविधिप्रति आपत्ति जनाउँदै तत्काल रोक्नुपर्ने आवाज उठेको र एउटै पार्टीको नाम, झन्डा तथा चुनाव चिह्न अनधिकृत रूपमा अर्को समूहले प्रयोग गर्न नमिल्ने भन्दै त्यसलाई रोक्न व्यावहारिक र कानुनी प्रक्रिया अघि बढाइने महामन्त्री डा. सङ्ग्रौलाले स्पष्ट पार्नुभयो ।

सभापति गगनकुमार थापाले एकताबद्ध हुन आह्वान गरिसक्नुभएकाले अब पनि पुरानै गतिविधि जारी राखे कांग्रेसको चुनाव चिह्नबाट जितेका जन-प्रतिनिधिमाथि समेत कानुनी प्रक्रिया अघि बढाइने, पार्टीबाहिर रहेका करिब २० प्रतिशत नेता–कार्यकर्तालाई समेट्ने प्रयास भइरहेको तथा १५ औँ महाधिवेशनपछिका गतिविधि, विधान कार्यान्वयन र असन्तुष्टि व्यवस्थापनबारे छलफल जारी रहेको उहाँले बताउनुभयो ।

विषय / क्षेत्र मुख्य विवरण वा सार
बैठक र प्रमुख एजेन्डा सभापति गगनकुमार थापाको अध्यक्षतामा बिपी स्मृति भवन (ललितपुर) मा मङ्गलबारदेखि शुक्रबारसम्म बैठक; जनजीविका, महँगी नियन्त्रण, विपद् राहत/पुनर्स्थापना र भूमिहीन सुकुमवासी व्यवस्थापन प्रमुख मुद्दा ।
समानान्तर गतिविधि र कानुनी बाटो पार्टीको नाम, झन्डा र चुनाव चिह्नको अनधिकृत प्रयोग रोक्न व्यावहारिक/कानुनी प्रक्रिया; गतिविधि नरोकिए कांग्रेस चिह्नबाट निर्वाचित जनप्रतिनिधिमाथि समेत कानुनी प्रक्रिया (महामन्त्री डा. डिला सङ्ग्रौला) ।
एकता र सङ्गठन पार्टीबाहिर रहेका करिब २० प्रतिशत नेता–कार्यकर्तालाई समेट्ने प्रयास; १५ औँ महाधिवेशनपछिका गतिविधि, विधान कार्यान्वयन र असन्तुष्टि व्यवस्थापनमा छलफल ।