

टीकापुर, भदौ ११ गते । रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको बाढीपछि जलविद्युत आयोजनामा काम गर्न गएका टीकापुरका युवाहरू सम्पर्कविहीन भएपछि परिवार र आफन्तमा चिन्ता बढेको छ।
टीकापुर नगरपालिका–१ समितिपुरबाट मात्रै जलविद्युत आयोजनामा काम गर्न गएका १० जना युवा सम्पर्कविहीन रहेको परिवारजनले बताएका छन्। उनीहरू आयोजनाको सुरुङ मार्गमा काम गर्न गएको बताइएको छ।
सम्पर्कविहीन हुनेमा वीरबहादुर चौधरी, शनिसराम चौधरी, जुगराम चौधरी, शिवनारायण चौधरी, बादल चौधरी, दोर्जे भनिने भुवन चौधरी, खुसीराम चौधरी, मनिराम चौधरी, अन्तराम चौधरी र मानबहादुर चौधरी रहेका छन्।
वीरबहादुरकी श्रीमती सुगन्ती चौधरीका अनुसार उनीसँग दैनिकजसो दिउँसो १२ बजेतिर कुराकानी हुने गरेको थियो। तर बुधबार बाढी आएको खबर पाएपछि पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन सकेको छैन।
समितिपुरकै तुलाराम चौधरीले कामका लागि युवाहरूलाई रसुवा लगेको बताइएको छ। बाढी आउँदा तुलाराम र भान्से दिलु चौधरी कोठामै रहेको र त्यसपछि उनीहरू सुरक्षित स्थानतर्फ भागेको परिवारजनले बताएका छन्। तुलारामले बिहान करिब साढे ११ बजेतिर फोनमा आफू डाँडातिर भागिरहेको र सुरुङमा काम गर्न गएका युवाहरूको अवस्था थाहा नभएको जानकारी गराएको बताइएको छ।
परिवारजनका अनुसार तुलारामसँग मात्रै कामका लागि ४० जनाभन्दा बढी युवा रसुवा पुगेका थिए। समितिपुरका बरघर तथा सम्पर्कविहीन मानबहादुर चौधरीका भाइ अखिल थारुले विभिन्न बस्तीबाट समेत धेरै मानिस कामका लागि गएको भए पनि सबैको नाम यकिन हुन नसकेको बताउनुभयो।
यस्तै, टीकापुर नगरपालिका–१ एकतापुरबाट पनि नौ जना युवा कामका लागि रसुवा गएको बताइएको छ। भदौ २ गते रसुवा पुगेका आशिष चौधरीसँग उनकी श्रीमती दिलकुमारी चौधरीले बुधबार बिहान ७ बजे अन्तिम पटक कुराकानी गरेकी थिइन्। त्यसपछि उनको सम्पर्क हुन सकेको छैन।
राजकुमार थारु, राजकपुर चौधरी, कमला चौधरीलगायत नौ जना युवा पनि रसुवा गएको परिवारजनले बताएका छन्। सम्पर्कविहीन युवाका परिवारजन उद्धार गरिएका व्यक्तिहरूको नाम सार्वजनिक हुने आशामा रहेका छन्।
बाढीपछि केही मानिस अस्पतालमा रहेको, केहीलाई हेलिकोप्टरबाट उद्धार गरिएको तथा केहीलाई सुरक्षित स्थानमा सारिएको खबर आए पनि आफ्ना आफन्तको अवस्था यकिन नहुँदा परिवारजनमा थप छटपटी बढेको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले रसुवामा काम गर्न गएका व्यक्तिका परिवारसँग सम्पर्क तथा समन्वय गरी खोजी कार्य अघि बढाइएको बताउनुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






















