

नवलपुर, भदौ १० गते । रसुवामा आएको बाढीको असर नारायणी नदीसम्म पर्न सक्ने भएपछि नवलपुर प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको छ।
नारायणी नदीमा बाढीको बहाव तीव्र रूपमा बढिरहेको भन्दै प्रशासनले नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाएको हो। बाढीको असर कति गम्भीर हुन्छ भन्ने यकिन आकलन भइसकेको छैन।
नवलपुरका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायका अनुसार बाढीको वास्तविक प्रभाव मुग्लिन क्षेत्र पार गरेपछि मात्रै थप स्पष्ट हुने भएकाले अहिले नै क्षतिको अनुमान गर्न कठिन छ। प्रशासनले भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखेको छ।
प्रजिअ उपाध्यायका अनुसार नारायणी नदीसँग जोडिएका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ।
नारायणी नदी फराकिलो क्षेत्रमा बग्ने भएकाले बाढीको असर तुलनात्मक रूपमा कम हुन सक्ने स्थानीय प्रशासनको अनुमान भए पनि यसपटक सामान्य सतर्कतामा मात्रै सीमित नभई जोखिमयुक्त तटीय बस्ती खाली गराउने तयारी गरिएको छ।
प्रशासनको अनुमानमा मध्यविन्दु नगरपालिका–१ र २ तथा कावासोती नगरपालिका–१७ बाढीको जोखिममा छन्।
नवलपुर प्रहरीले चितवन क्षेत्रदेखि नै बाढीको जोखिम बढेपछि तटीय बस्तीमा माइकिङ गर्दै स्थानीयलाई सतर्क रहन र आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।
प्रशासनले नदीको बहाव र जोखिमको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। स्थानीय बासिन्दालाई नदी किनारमा नजान तथा प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























