08/27/2026, 08:32:51
बिहिबार, भदौ ११, २०८३

रसुवा र नुवाकोटमा थप भीषण बाढी आउने हल्ला निराधार, अपुष्ट सूचनाको पछि नलाग्न महाशाखाको आग्रह


काठमाडौँ, भदौ ११ गते । रसुवा र नुवाकोट क्षेत्रमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नरहेको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। हालसम्म प्राप्त विवरण र प्रारम्भिक विश्लेषणका आधारमा थप विनाशकारी बाढी आउने कुनै विश्वसनीय आधार नदेखिएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको महाशाखाले जनाएको छ।

अविरल वर्षा भइरहेका कारण नदीमा जलसतह र बहाव केही बढ्न सक्ने भए पनि तत्कालै अस्वाभाविक वा ठूलो बाढी आउने सम्भावना नरहेको भन्दै सर्वसाधारणलाई संयमित रहन आग्रह गरिएको छ। महाशाखाले अपुष्ट हल्ला र सामाजिक सञ्जालमा फैलिएका अफवाहको पछि नलागी आधिकारिक स्रोतबाट सम्प्रेषित समाचारलाई मात्र विश्वास गर्न अपिल गरेको छ।

यदि सीमा क्षेत्र वा माथिल्लो तटीय क्षेत्रबाट ठूलो बाढी नेपालतर्फ प्रवेश गर्ने अवस्था देखिएमा सीमामा तैनाथ सुरक्षा निकायहरूसँग समन्वय गरी तत्काल पूर्वसूचना दिइनेछ। महाशाखाका अनुसार त्यस्तो कुनै जोखिम सिर्जना भएमा सर्वसाधारणलाई ‘एसएमएस‘ तथा अन्य आधिकारिक सञ्चारमाध्यमबाट यथाशीघ्र जानकारी गराइनेछ।