08/28/2026, 10:06:53
शुक्रबार, भदौ १२, २०८३

बाढी-पहिरोले काठमाडौँ छिर्ने मुख्यसहित नौ जिल्लाका राजमार्ग ठप्प, रातको समयमा यात्रा नगर्न प्रहरीको आग्रह


काठमाडौँ, भदौ ११ गते । बाढी र पहिरोले काठमाडौँ उपत्यका जोड्ने मुख्य राजमार्गहरूसहित देशका विभिन्न नौ जिल्लाका सडक सञ्जाल अस्तव्यस्त बनेका छन्। बाढीको उच्च जोखिमका कारण काठमाडौँको नागढुङ्गा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। त्यसैगरी धादिङको ज्वाङखोला लगायतका स्थानमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।

बागमती र कर्णाली प्रदेशका प्रमुख राजमार्गहरूमा जोखिम बढेपछि प्रहरीले स्थान हेरी आवागमनमा कडाइ र निश्चित समयका लागि रोक लगाएको छ। काभ्रेको खुर्कोट–नेपालथोक सडकखण्डमा साँझ ७ देखि बिहान ४ बजेसम्म र मकवानपुरको कान्तिलोकपथमा साँझ ७ देखि बिहान ५ बजेसम्म गाडी चलाउन पाइने छैन। उता रसुवाको त्रिशूली–स्याफ्रुबेँसी, नुवाकोटको तोखा–छहरे सडकखण्डका साथै रुकुम पश्चिमको जाजरकोट–डोल्पा सडक पनि बाढीका कारण ठप्प छन्।

पूर्वी पहाडी जिल्ला इलामको राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि झापा-ताप्लेजुङ यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ। सडक विभाग र प्रहरी टोली राजमार्ग खुलाउन प्रयासरत रहे पनि वर्षा नरोकिएकाले समस्या भइरहेको छ। यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सडकको अवस्थाबारे पूर्वजानकारी लिन र सम्भावित जोखिमबाट बच्न सुरक्षा निकायले सर्वसाधारणमा अपिल गरेको छ।