08/27/2026, 10:37:34
बिहिबार, भदौ ११, २०८३

विपत्तिमा सरकारको सम्पूर्ण संयन्त्र परिचालन, टिमुरेबाट ११६ जनाको उद्धार


काठमाडौँ, भदौ ११ गते । प्रधानमन्त्री बालेन्द्र शाहले देशले अकल्पनीय विपत्तिको सामना गरिरहेको भन्दै उद्धार तथा राहतका लागि सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताउनुभएको छ।

प्रधानमन्त्री शाहले बिहीबार सामाजिक सञ्जालमार्फत हालसम्म सरकारले गरेका उद्धार तथा राहतका गतिविधिबारे जानकारी दिँदै विपत्तिको घडीमा आम नेपाली एकजुट भएर सामना गरिरहेको बताउनुभएको हो।

उहाँका अनुसार बिहीबार बिहान साढे ६ बजेदेखि उद्धारका लागि उडान सुरु भएका छन्। हालसम्म १५ भन्दा बढी उडान भइसकेका छन् भने थप हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन्।

नेपाली सेनाले बिहीबार बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनाको सकुशल उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यस्तै, टनेलबाट सात जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ।

प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्रीसँगै जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिन पुर्‍याउने काम भइरहेको उहाँले बताउनुभएको छ। छिट्टै प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने जनाइएको छ।

नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना तथा पानीको व्यवस्था गरिएको छ। ड्रोन सर्वेबाट प्रभावित क्षेत्रको अवस्था र आवश्यकताबारे जानकारी सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

उद्धारका क्रममा हेलिकोप्टरबाट सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने जनाइएको छ। प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई धैर्य र संयम कायम राख्न आग्रह गर्दै राज्यको सम्पूर्ण संयन्त्र यथाशीघ्र उद्धारका लागि परिचालित रहेको बताउनुभएको छ।

यसैबीच, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पनि बिहीबार नुवाकोटमा बाढीबाट उद्धार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था तथा सम्पर्कविहीन व्यक्तिका परिवारजनसँग भेटघाट गर्नुभएको छ।

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई उद्धार गरी नेपाली सेना, श्री नं. १ तालिम केन्द्र त्रिशूलीमा ल्याइएको छ।

सो अवसरमा मन्त्री डा. तिमिल्सिनाले सरकारले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको बताउनुभयो।

प्रधानमन्त्री शाहले विपत्तिको सामना गर्न सरकार, नेपाली नागरिक, विश्वभर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै उद्धार तथा राहतमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ।