08/26/2026, 16:46:17
बुधबार, भदौ १०, २०८३

रसुवामा भीषण बाढी : ३८४ पर्यटक सम्पर्कविहीन, ११ हाइड्रोपावरसहित ४३१ मेगावाट विद्युत् प्रणालीबाहिर


काठमाडौँ, भदौ १० गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण सयौँ व्यक्ति सम्पर्कविहीन हुनुका साथै सडक, पुल, प्रहरी कार्यालय, बैंकिङ संस्था, जलविद्युत् आयोजना र अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

प्राप्त विवरणअनुसार २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक सम्पर्कविहीन छन्। कैलाश मानसरोवर यात्रामा निस्किएका १० नेपालीसहित करिब ५० पर्यटकसमेत सम्पर्कविहीन भएको बताइएको छ।

रसुवा अस्पतालमा २३ जना घाइतेको उपचार भइरहेको छ भने गम्भीर अवस्थाका १३ जना घाइतेलाई उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल ल्याइएको छ। बाढी प्रभावितको उपचारका लागि वीर अस्पतालमा समेत विशेष तयारी गरिएको छ।

धादिङ र नुवाकोटमा बाढीका कारण ८ जनाको मृत्यु भएको पुष्टि भएको छ। नुवाकोट प्रहरीले बाढीमा फसेका पाँच जनाको उद्धार गरिएको तथा त्रिशूली नदीको किनार सिमचौरमा दुई जना र कोल्पुटारमा एक जनाको शव फेला परेको जनाएको छ।

४० किलोमिटर सडक अवरुद्ध, १९ भन्दा बढी पुलमा क्षति

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार त्रिशूली नदीमा रहेका १९ भन्दा बढी पुलमा क्षति पुगेको छ। बाढीका कारण करिब ४० किलोमिटर सडक अवरुद्ध भएको प्रारम्भिक विवरण छ। धादिङ सदरमुकाम जोड्ने फुर्के खोलाको पुलसमेत बाढीले बगाएको छ।

रसुवामा भोटेकोशीको बाढी गत वर्षको भन्दा करिब पाँच गुणा ठूलो रहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताएका छन्। बाढीका कारण भोटेकोशी नदीको तटीय क्षेत्रमा रहेका बस्ती तथा संरचना ठूलो जोखिममा परेका छन्।

रसुवागढी हाइड्रोपावरको ड्यामलगायत केही संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ५–६ भन्दा बढी बैंकिङ संस्था समेत बाढीबाट प्रभावित भएको बताइएको छ।

११ जलविद्युत् आयोजना प्रणालीबाहिर

बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ४३१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाहिर गएको छ। जलविद्युत् आयोजनाका संरचनामा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

सुरक्षाकर्मी पनि सम्पर्कविहीन

बाढीबाट सुरक्षाकर्मीका संरचनामा समेत ठूलो क्षति पुगेको छ। टिमुरेस्थित इलाका प्रहरी कार्यालयसहित तीन प्रहरी कार्यालयमा क्षति पुगेको छ।

प्रारम्भिक विवरणअनुसार नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरी बलका ९ जना कर्मचारी सम्पर्कविहीन छन्। उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

उद्धारका लागि ७ हेलिकप्टरसहित ३५ जना परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन बागमती प्रदेश सरकारले स्वास्थ्यकर्मीसमेत परिचालन गरेको छ।

हवाई इन्धनसहित उद्धारमा सहयोग

नेपाल आयल निगमले प्रभावित क्षेत्रमा उद्धार कार्यलाई सहज बनाउन ११ हजार लिटर हवाई इन्धन बोकेको ‘रिफ्युलर’ गाडी नुवाकोट पठाएको छ।

यसैबीच, गोरखाको पालुङटार नगरपालिका–५ र ४ ठाँटीपोखरीबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि छुटेको मिनीबससमेत सम्पर्कविहीन भएको छ। मिनीबसमा चालक र सहचालकसहित ३८ जना सवार रहेको बताइएको छ।

सरकारले रसुवा, नुवाकोट र धादिङका प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन्।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको र उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको सम्बन्धित निकायले जनाएको छ।