11/23/2026, 15:33:47
सोमबार, मङि्सर ०८, २०८३
*** काठमाडौँ जलवायु कार्य सप्ताह २०८३ ***

‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ सुरु, ‘रिचार्ज काठमाडौं अभियान’ को शुभारम्भ

छलफल मात्र नभई व्यवहारमै परिणाम देखिने काम गर्नुपर्ने कार्यवाहक प्रमुख डंगोलको जोड; हिटी संरक्षण, भूमिगत जल पुनःभरण र सम्पदा पदयात्रा हुने

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, मङ्सिर ७ गते । काठमाडौँ महानगरपालिकाको आयोजनामा ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ सोमबारदेखि सुरु भएको छ । जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण गर्दै अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो ।

सप्ताहको उद्घाटन गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनका चुनौती सामना गर्न छलफल र विचारविमर्शमा मात्र सीमित नभई व्यवहारमै परिणाम देखिने काम गर्नुपर्ने बताउनुभयो । जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले सप्ताहका कार्यक्रममार्फत तत्काल कार्यान्वयन गर्न सकिने योजनालाई प्राथमिकता दिइने जानकारी दिनुभयो ।

पहिलो दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौं अभियान’ शुभारम्भ गरिनुका साथै नीतिगत तथा राजनीतिक नेतृत्व तहमा संवाद र स्थानीय तहका जनप्रतिनिधिबीच अनुभव आदानप्रदान गरिएको छ । महानगरपालिकाका अनुसार दोस्रो दिन जलवायु वित्त, जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधारबारे विज्ञ छलफल र तेस्रो दिन नागरिक विज्ञान, सम्पदा संरक्षण तथा जलवायु असरबारे विमर्श हुनेछ ।

सप्ताहअन्तर्गत परम्परागत हिटी प्रणाली संरक्षण, भूमिगत जल पुनःभरण, पानीको गुणस्तर परीक्षण र ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्राजस्ता विज्ञानमा आधारित तथा सामुदायिक सहभागिताका कार्यक्रम सञ्चालन गरी काठमाडौँ उपत्यकालाई जलवायु उत्थानशील, समावेशी, स्वस्थ र बस्न योग्य सहर बनाउने साझा प्रयासको थालनी गरिने महानगरपालिकाले जनाएको छ ।

विषय / क्षेत्र मुख्य विवरण वा सार
उद्घाटन र मुख्य सन्देश कार्यवाहक प्रमुख सुनिता डंगोलद्वारा उद्घाटन; छलफलसँगै व्यवहारमा परिणाम देखिने काम र तत्काल कार्यान्वयन हुने योजनामा जोड ।
दिनअनुसारका कार्यक्रम पहिलो दिन राष्ट्रिय सभागृहमा ‘रिचार्ज काठमाडौं अभियान’ शुभारम्भ र संवाद; दोस्रो दिन जलवायु वित्त/अनुकूलन/पूर्वाधार; तेस्रो दिन नागरिक विज्ञान र सम्पदा संरक्षण ।
अन्य गतिविधि र लक्ष्य परम्परागत हिटी संरक्षण, भूमिगत जल पुनःभरण, पानी गुणस्तर परीक्षण र सम्पदा पदयात्रा; उपत्यकालाई जलवायु उत्थानशील र बस्न योग्य सहर बनाउने लक्ष्य ।