

काठमाडौँ, भदौ ११ गते । अमेरिकाले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर (करिब साढे ७ करोड नेपाली रुपियाँ) आपत्कालीन सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले बाढीमा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै विपद् प्रतिकार्यमा प्रत्यक्ष सहयोग पुर्याउन एक जना विपद् प्रतिकार्य सल्लाहकारलाई समेत प्रभावित क्षेत्रमा खटाउने जनाएको छ।
क्याथोलिक रिलिफ सर्भिसेससँगको विश्वव्यापी सहकार्यमार्फत उपलब्ध गराइने उक्त रकमबाट बाढी प्रभावितहरूका लागि आपत्कालीन आश्रय, राहत सामग्रीका साथै खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहायता प्रदान गरिनेछ।
यसैबिच, काठमाडौँस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकहरूको सुरक्षाका लागि स्थानीय अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। दूतावासले आफ्ना नागरिकहरूलाई स्थानीय प्रशासनको निर्देशन पालना गर्न र ‘स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राम‘ (STEP) मा आबद्ध हुन आग्रह गर्दै, नेपालमा रहेका परिवारका सदस्यबारे जानकारी लिनका लागि सम्पर्क नम्बरहरू (१-८८८-४०७-४७४७ र १-२०२-५०१-४४४४) सार्वजनिक गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






















