09/14/2026, 02:41:52
आइतबार, भदौ २८, २०८३

लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्न सिफारिस, सरकारको प्रवक्तामा पुनः रामजीप्रसाद घिमिरे


दाङ, भदौ १० गते । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा राप्ती उपत्यका (देउखुरी) मा मङ्गलबार साँझ बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम भदौ ११ गते बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

बैठकले प्रदेशको स्थायी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने अवधि थप गर्ने निर्णय गर्नुका साथै नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। मुख्यमन्त्री आचार्यले विकास निर्माणका कामलाई गति दिन, सेवा प्रवाहलाई प्रभावकारी बनाउन र योजनाहरूको सफल कार्यान्वयनमा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ।

यसैबिच, मन्त्रिपरिषद् बैठकले सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेलाई पुनः प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी सुम्पेको छ। यसअघि स्वास्थ्यमन्त्री रहँदा पनि घिमिरेले नै सरकारको प्रवक्ताको भूमिका निर्वाह गर्नुभएको थियो।