काठमाडौँ, असोज ३० गते । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले क्लबको नेतृत्वको आलोचना गरेको विषयमा सार्वजनिक रूपमा माफी मागेका छन्। च्याम्पियन्स लिगमा एट्लेटिको म्याड्रिडसँग २–० ले पराजित भएपछि क्लबमा थप लगानी आवश्यक रहेको अभिव्यक्ति दिएका मार्टिनेजले प्रशिक्षक माइकल क्यारिक र क्लबका वरिष्ठ अधिकारीहरूसँग छलफल गरेपछि माफी मागेका हुन्।
मंगलबारको हारपछि मार्टिनेजले क्लबले उच्चस्तरमा प्रतिस्पर्धा गर्न थप खेलाडी अनुबन्ध गर्नुपर्ने बताएका थिए। उनले विशेषगरी क्लबका फुटबल निर्देशक जेसन विल्कक्सलाई लक्षित गर्दै टोलीलाई बलियो बनाउन पर्याप्त लगानी आवश्यक रहेको धारणा राखेका थिए।
बिहीबार प्रशिक्षणपछि प्रशिक्षक क्यारिक र क्लबका नेतृत्वसँग भेट गरेका मार्टिनेजले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छलफल सकारात्मक भएको जानकारी दिएका छन्।
उनले मंगलबारको खेलपछि आफूले व्यक्त गरेका भावनाबारे खुलेर छलफल भएको उल्लेख गर्दै भनेका छन्, “हारपछिको निराशाले मलाई आफ्नो भावना व्यक्त गर्न प्रेरित गर्यो। तर, त्यसका लागि रोजिएको समय र स्थान उपयुक्त नहुन सक्छ। त्यसका लागि माफी माग्न चाहन्छु।”
अर्जेन्टिनाका अन्तर्राष्ट्रिय खेलाडी मार्टिनेजले आफू फुटबलप्रति अत्यन्त भावुक रहेको स्वीकार गर्दै आफ्नो अभिव्यक्तिले क्लबभित्र आवश्यक एकताको भावना प्रतिबिम्बित गर्न नसकेको बताएका छन्।
उनले म्यानचेस्टर युनाइटेडका सबै व्यक्ति क्लबको साझा लक्ष्य हासिल गर्न प्रयासरत रहेको विश्वाससमेत व्यक्त गरेका छन्।
“हाम्रो क्लब सबै एकजुट हुँदा उत्कृष्ट हुन्छ। मेरो भनाइले त्यसलाई प्रतिबिम्बित गर्न सकेन भन्ने म स्वीकार गर्छु,” उनले बताएका छन्।
क्लब स्रोतका अनुसार आन्तरिक अनुशासनसम्बन्धी कुनै कारबाही भए पनि त्यसलाई सार्वजनिक गरिने छैन। स्रोतले मार्टिनेजले आफ्नै निर्णयमा सार्वजनिक रूपमा माफी मागेको र दुवै पक्षले यो विषय टुङ्गिएको मानेको जनाएको छ।
यसैबीच, प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सुरुआत निराशाजनक बनेको छ। छ खेलपछि टोली १३औँ स्थानमा रहेको छ, जुन पछिल्लो ४० वर्षयताकै खराब सुरुआतमध्ये एक हो। युनाइटेडले आइतबार सातौँ स्थानमा रहेको लिड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ।
क्लबभित्रको विवाद टुङ्गिएसँगै अब टोलीको ध्यान मैदानमा प्रदर्शन सुधार गर्ने र समर्थकको विश्वास जित्ने दिशामा केन्द्रित हुने अपेक्षा गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










