08/27/2026, 08:32:51
बिहिबार, भदौ ११, २०८३

राहत र उद्धारबारे रणनीति बनाउन रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक


काठमाडौँ, भदौ ११ गते । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पुगेको क्षति, प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, र राहत एवं पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बिहान ९ बजेका लागि यो बैठक तय गरिएको हो।

रास्वपा प्रवक्ता जगदिश खरेलका अनुसार बैठक सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा आयोजना गरिनेछ। विपत्को यस घडीमा बाढी प्रभावितहरूका लागि तत्काल आवश्यक राहत पुर्‍याउन र दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच प्रभावकारी सहकार्य गर्ने मुख्य उद्देश्य बैठकको रहेको छ।

बैठकमा भोटेकोशी बाढीबाट सिर्जित सङ्कटलाई सामूहिक रूपमा सम्बोधन गर्न र सरकारी तथा गैरसरकारी निकायहरूबीचको उद्धार प्रयासलाई अझ समन्वयकारी बनाउन गहन छलफल हुने जनाइएको छ।