08/26/2026, 08:32:55
बुधबार, भदौ १०, २०८३
बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान

‘मह जोडी’ मदनकृष्ण र हरिवंश ‘बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान’ अभियानको सद्भावना दूत नियुक्त


काठमाडौँ, भदौ १० गते । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ‘बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान’ अभियानको सद्भावना दूत घोषित हुनुभएको छ। तेरापन्थ युवक परिषद्, काठमाडौँले रक्तदान तथा नेत्रदानसम्बन्धी अभियानलाई थप प्रभावकारी र व्यापक बनाउने उद्देश्यले उहाँहरूलाई औपचारिक रूपमा यो जिम्मेवारी सुम्पेको हो।

सद्भावना दूत बनेपछि कलाकार हरिवंश आचार्यले मानवीय सेवाका अभियानमा सहभागी हुन पाउनु गौरवको विषय भएको बताउनुभयो भने मदनकृष्ण श्रेष्ठले राम्रो र सेवामूलक कार्यमा सधैँ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। परिषद्का अध्यक्ष निश्चल लालबानीले मह जोडी जस्ता लोकप्रिय व्यक्तित्वको सहभागिताले समाजमा जनचेतना विस्तार गर्न ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

विगत २५ वर्षदेखि सामाजिक कार्यमा सक्रिय परिषद्ले हालसम्म २५० भन्दा बढी रक्तदान शिविर सञ्चालनका साथै १४ जनाको मरणोपरान्त नेत्रदानमा सहजीकरण गरिसकेको छ। परिषद्ले अगस्ट २५ देखि सेप्टेम्बर ८ सम्म नेत्रदान सम्बन्धी सचेतना कार्यक्रम र सेप्टेम्बर १७ देखि २३ सम्म ‘रक्तदान कर्तव्य २०२६’ अभियान सञ्चालन गर्ने जनाउँदै सर्वसाधारणलाई रक्तदान र नेत्रदानको सङ्कल्प गर्न आग्रह गरेको छ।