सौराहा, मंसिर ३ गते । संगीतमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटकीय नगरी सौराहामा पहिलो पटक लोकप्रिय नेपाली ब्याण्ड नेपथ्यले सांगीतिक प्रस्तुति दिने भएको छ।
आज सौराहास्थित सिसुवार मैदानमा हुने विशेष सांगीतिक कार्यक्रममा करिब १० हजार दर्शक सहभागी हुने आयोजकको अपेक्षा छ। ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्धन हाम्रो अभियान’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रमले सौराहाको पर्यटन क्षेत्रमा नयाँ सांगीतिक आयाम थप्ने अपेक्षा गरिएको छ। नेपाल डायरिज र एबी ईभेन्ट्सको संयुक्त आयोजना तथा रत्ननगर नगरपालिकाको संरक्षणमा हुन लागेको यस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
कार्यक्रम संयोजक आशिष श्रेष्ठका अनुसार सौराहामा पहिलो पटक नेपथ्यलाई उतार्न लागिएको हो। संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको बताउँदै संयोजक श्रेष्ठले यस कार्यक्रमले सौराहालाई पर्यटनसँगै सांगीतिक गन्तव्यका रूपमा समेत चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
वन्यजन्तु, प्राकृतिक सौन्दर्य र आतिथ्य सत्कारका कारण देश–विदेशमा परिचित सौराहामा हुने यस प्रस्तुतिले पर्यटक तथा संगीतप्रेमीलाई आकर्षित गर्ने आयोजकको भनाइ छ। कार्यक्रममा सहभागी हुने दर्शकका कारण स्थानीय होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य व्यवसायमा समेत चहलपहल बढ्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार कार्यक्रम-स्थलमा दर्शकका लागि आज दिउँसो ४ बजेदेखि प्रवेश खुला गरिनेछ भने नेपथ्यका मुख्य गायक अमृत गुरुङको प्रस्तुति साँझ ६ बजेदेखि ८ बजेसम्म रहनेछ। दर्शकको सहजताका लागि विद्यार्थी सहुलियत, अर्ली बर्ड, रेगुलर र भीआइपी गरी विभिन्न श्रेणीका टिकटको व्यवस्था गरिएको छ।
मुख्य गायक अमृत गुरुङसहित ब्याण्डको टोली केही दिनअघि नै सौराहा पुगिसकेको र सुरक्षा, व्यवस्थापन तथा प्रवेशका तयारीलाई अन्तिम रूप दिइएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो।
कार्यक्रममा चितवनसहित नवलपरासी, नवलपुर, गोरखा, तनहुँ, धादिङ र मकवानपुर लगायतका जिल्लाबाट दर्शक तथा संगीतप्रेमी सहभागी हुने अपेक्षा गरिएको छ। यसअघि आयोजक संस्थाले गत वर्ष नारायणगढको क्याम्पाचौरमा नेपथ्यको सांगीतिक कार्यक्रम आयोजना गरेको थियो।
सौराहामा पहिलो पटक हुन लागेको यो प्रस्तुति केवल सांगीतिक मनोरञ्जनमा सीमित नरही चितवनको पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्र चलायमान बनाउन र सौराहाको नयाँ पहिचान निर्माण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
| विवरण | तथ्य / जानकारी |
| कलाकार / ब्याण्ड | नेपथ्य (मुख्य गायक: अमृत गुरुङ) |
| स्थान र समय | सिसुवार मैदान, सौराहा (दिउँसो ४ बजे प्रवेश खुला, साँझ ६–८ बजे प्रस्तुति) |
| आयोजक तथा संरक्षक | नेपाल डायरिज र एबी ईभेन्ट्स (संरक्षक: रत्ननगर नगरपालिका; संयोजक: आशिष श्रेष्ठ) |
| अपेक्षित दर्शक | करिब १० हजार (चितवनसहित आसपासका जिल्लाबाट) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












प्रतिक्रिया दिनुहोस्