काठमाडौँ, मङ्सिर ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदान-प्रदानमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य विस्तार आवश्यक रहेको बताउनुभयो। नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपाल–भारत पर्यटन साझेदारीलाई नयाँ उचाइमा पुर्याउन पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा राख्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाल र भारतबीचको सम्बन्ध कूटनीतिक दायरामा मात्र सीमित नरही साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतासँग जोडिएको स्पष्ट पार्नुभयो। धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता तथा स्वास्थ्य र आरोग्य पर्यटन भारतीय पर्यटकका लागि विशेष आकर्षण बन्न सक्ने उहाँको भनाइ थियो।
साथै, पर्यटन प्रवर्द्धनसँगै हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
सोही अवसरमा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्ता गरी हवाई उड्डयन क्षेत्रको विकास र द्विपक्षीय सहकार्यबारे छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।
उक्त कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत र उत्तराखण्डका संस्कृति तथा पर्यटनमन्त्री सतपाल महाराजले नेपालसँग पर्यटन सहकार्य तथा साझा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले स्वागत गर्नुभएको कार्यक्रममा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसहित भुटान, पोल्यान्ड र भियतनामका कूटनीतिक नियोगका प्रतिनिधिहरूले ‘नेपाल कलिङ’ अभियानप्रति समर्थन जनाउनुभयो। नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले नेपाल सुरक्षित र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिँदै नेपालका विविध पर्यटन सम्भावना प्रस्तुत गर्नुभयो।
कार्यक्रममा भारतीय टुर अपरेटर सङ्घ (आइएटीओ) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत दुवै देशका पर्यटन व्यवसायी तथा निजी क्षेत्रका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक निकटता र धार्मिक सम्बन्धलाई आर्थिक तथा सामाजिक साझेदारीमा रूपान्तरण गर्ने उद्देश्यसहित आयोजित यस कार्यक्रमले दुई देशबीचको पर्यटन सहकार्यलाई थप बलियो बनाउने विश्वास लिइएको छ।
| विवरण | तथ्य / जानकारी |
| कार्यक्रम | ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रम, नयाँदिल्ली (भारत) |
| आयोजक | नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावास |
| प्रमुख वक्ता तथा भेटवार्ता | पर्यटनमन्त्री खडक राज पौडेल ‘गनेस’ (भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग भेट) |
| अन्य सहभागी | गजेन्द्र सिंह शेखावत, सतपाल महाराज, हिक्मतसिंह ऐर, आइएटीओ र नाट्टा प्रतिनिधिहरू |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












प्रतिक्रिया दिनुहोस्