रसुवा, कात्तिक २७ गते । रसुवाको प्रसिद्ध गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा पूर्ण रूपमा फरक धार्मिक मान्यता, किंवदन्ती र जन-विश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो।
मुख्य गोसाइँकुण्ड (छोकर) भन्दा तल र सरस्वतीकुण्ड (वाङ्लत्ती) भन्दा माथि रहेको यस कुण्डलाई स्थानीय तामाङ समुदायले ‘छोना’ अर्थात् कालोकुण्डका रूपमा चिन्ने गरेका छन्। गोसाइँकुण्डलाई शुद्धता र जीवनको प्रतीक मानिने भए पनि भैरवकुण्डलाई भने भय, निषेध र अशुद्धताको प्रतीकका रूपमा बुझिन्छ।
यही परम्परागत मान्यताका कारण गोसाइँकुण्डको दर्शन गरेर फर्किने तीर्थयात्रीहरू भैरवकुण्डमा स्नान गर्दैनन् र उता फर्केर हेर्नसमेत हुँदैन भन्ने जन-विश्वास रहिआएको छ।
भैरवकुण्डको उत्पत्ति हिन्दू र बौद्ध धर्मका विभिन्न पौराणिक कथा तथा जन-श्रुतिहरू जोडिएका छन्। हिन्दू मान्यता अनुसार भगवान् शिवले ब्रह्माको शिर छेदन गरेपछि वा समुद्र मन्थनको विष सेवन गर्दा निस्किएको डाह र पसिनाबाट यो कुण्ड बनेको विश्वास गरिन्छ। विषयुक्त पसिनाबाट बनेको मान्यता भएकाले यहाँ विषालु नागको बास रहेको र यसको पानी अशुद्ध हुने जनविश्वास छ।
त्यस्तै, बौद्ध परम्परा अनुसार महादेवका दाजु ‘छोना’ ले बनाएको र महादेवले ‘मन कालो भएकाले तिमीले बनाएको कुण्ड पनि कालो होस्’ भनी श्राप दिएको कथा ‘जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म–संस्कृति’ पुस्तकमा उल्लेख गरिएको छ।
यस कुण्डसँग तामाङ समुदायको ‘गोले’ थरका मानिसको विशिष्ट कुल-परम्परा र ऐतिहासिक किंवदन्ती पनि जोडिएको छ। प्राचीनकालमा गोले थरका एक झाँक्री भैरवकुण्डको विषालु नागलाई वशमा पार्न कुण्डभित्र पसेका र उनकी श्रीमतीले नियमअनुसार ढ्याङ्ग्रो बजाउन छोडी आत्तिएर भागेपछि झाँक्रीको मृत्यु भएको किंवदन्ती प्रचलित छ। सोही घटनाका कारण गोले थरका मानिसले आजसम्म पनि भैरवकुण्ड र कतिपय अवस्थामा गोसाइँकुण्डसमेत नजाने परम्परा कडाइका साथ पालना गर्दै आएका छन्।
स्थानीय वडा कार्यालय तथा नागरिक समाजले यस्ता मौखिक इतिहास, धार्मिक विश्वास र अमूर्त सांस्कृतिक सम्पदाहरूको दस्तावेजीकरण तथा संरक्षण गर्न सके रसुवाको धार्मिक तथा अध्ययन पर्यटनमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन्।
| विवरण | तथ्य / जानकारी |
| गन्तव्य | भैरवकुण्ड (गोसाइँकुण्ड क्षेत्र, रसुवा) |
| स्थान तथा नाम | गोसाइँकुण्डभन्दा तल, तामाङ भाषामा ‘छोना’ (कालोकुण्ड) |
| प्रमुख मान्यता | भय र निषेधको प्रतीक, स्नान गर्न र फर्केर हेर्नसमेत निषेध |
| विशेष किंवदन्ती | झाँक्री र नागको संघर्षको कथा, गोले थरका मानिसहरू नजाने परम्परा |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







प्रतिक्रिया दिनुहोस्