काठमाडौँ, कात्तिक २६ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबिच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको छ।
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को ‘विश्व दूरसञ्चार नीति मञ्च २०२६’ मा भाग लिने सिलसिलामा कतारको दोहामा आयोजित उक्त भेटवार्तामा दुवै देशका मन्त्रीबिच डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, साइबर सुरक्षा र संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्ने सम्भावनाबारे विस्तृत परामर्श भएको हो। सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल सुशासनमा इस्टोनियाले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले त्यहाँको अनुभवबाट महत्त्वपूर्ण सिकाइ लिन सक्ने बताउनुभयो।
इस्टोनियाले डिजिटल पहिचान, सुरक्षित तथ्याङ्क आदान-प्रदान, विद्युतीय हस्ताक्षर तथा कागजरहित अनलाइन सार्वजनिक सेवा प्रणालीमा गरेको सफल अभ्यास नेपालको सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र नागरिक केन्द्रित बनाउन अति उपयोगी हुने मन्त्री तिमिल्सिनाले औँल्याउनुभयो।
प्राविधिक ज्ञान र सफल अभ्यासको आदानप्रदानबाट नेपालको ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई समेत प्रविधिको मूलप्रवाहमा जोड्न सहयोग पुग्ने उहाँको विश्वास थियो। साथै, उहाँले कृत्रिम बौद्धिकता (एआई) र उन्नत डिजिटल पूर्वाधारको असमान पहुँचका कारण विश्वमा सिर्जना हुन सक्ने नयाँ किसिमको ‘डिजिटल विभाजन’ को चुनौतीप्रति ध्यानाकर्षण गराउँदै इस्टोनियाजस्ता अग्रणी मुलुकले यसको न्यूनीकरणका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
भेटवार्ताका क्रममा इस्टोनियाकी मन्त्री लिजा पाकोस्टाले नेपालसँग डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा पारस्परिक सहकार्य र साझेदारी अघि बढाउन आफ्नो देश पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले डिजिटल शासन प्रणाली विकासका क्रममा इस्टोनियाले आर्जन गरेको ज्ञान र अनुभव नेपालसँग खुसीसाथ साटासाट गर्ने प्रतिबद्धता जनाउँदै आपसी हितका क्षेत्रमा सहकार्यका पर्याप्त आधारहरू रहेको उल्लेख गर्नुभयो।
दुई देशबिचको यो सहकार्यले नेपालको प्रशासनिक प्रक्रियामा मितव्ययिता ल्याउन, समयको बचत गर्न र सेवाप्रवाहमा पारदर्शिता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
| विवरण | तथ्य / जानकारी |
| प्रमुख वार्ताकारहरू | डा विक्रम तिमिल्सिना (सञ्चारमन्त्री, नेपाल) र लिजा पाकोस्टा (डिजिटल मामिलामन्त्री, इस्टोनिया) |
| स्थान / अवसर | दोहा, कतार (आइटियुको ‘विश्व दूरसञ्चार नीति मञ्च २०२६’) |
| मुख्य विषयहरू | डिजिटल रूपान्तरण, विद्युतीय शासन प्रणाली, साइबर सुरक्षा र डिजिटल सार्वजनिक पूर्वाधार |
| प्रमुख निष्कर्ष | इस्टोनियाको अनुभव नेपालमा उपयोग गर्ने र द्विपक्षीय सहकार्यलाई गहिरो बनाउने प्रतिबद्धता |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









प्रतिक्रिया दिनुहोस्