काठमाडौँ, कात्तिक २६ गते । नेपालले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई सबल बनाउँदै सङ्क्रामक रोग नियन्त्रण, एन्टि-माइक्रोबियल प्रतिरोध (एएमआर) न्यूनीकरण र स्वास्थ्य आपतकालीन अवस्थाको पूर्व-तयारीमा सदस्य राष्ट्रबिच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएको छ।
श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिम्स्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालको तर्फबाट सहभागी हुँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले क्षेत्रीय जनस्वास्थ्यका साझा चुनौती र तिनको सामूहिक समाधानका लागि नेपालको स्पष्ट धारणा प्रस्तुत गर्नुभएको हो।
मन्त्री मेहताले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई समावेशी र उत्थानशील बनाउन सदस्य राष्ट्रबिच आपसी विश्वास, साझा जिम्मेवारी र प्रभावकारी समन्वय अपरिहार्य रहेको औँल्याउनुभयो।
बैठकमा मन्त्री मेहताले सङ्क्रामक तथा पशुजन्य रोग नियन्त्रण, जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा परेका असर, र सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने विषयलाई नेपालको मुख्य प्राथमिकताका रूपमा उठाउनुभयो। साझा चुनौतीहरूको सामना गर्न सदस्य राष्ट्रहरूले एकअर्काका अनुभव, प्राविधिक ज्ञान र असल अभ्यासहरूको आदानप्रदान गर्दै सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्ने उहाँको भनाइ थियो।
सोही क्रममा उहाँले सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिमण्डलका प्रमुखहरूसँग द्विपक्षीय स्वास्थ्य सहकार्य विस्तार र स्वास्थ्य प्रणाली सुदृढीकरणका विषयमा विस्तृत छलफल गर्नुभएको थियो।
उक्त बैठकमा नेपालबाट स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय र प्रशासन सहसचिव हुमकला पाण्डे लगायतको उच्चस्तरीय टोली सहभागी रहेको थियो।
यसैबीच, बैठककै सिलसिलामा मन्त्री मेहताले भारतीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डासँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। भारतीय मन्त्री नड्डाले सामाजिक सञ्जालमार्फत भेटको जानकारी गराउँदै नेपाल र भारतबिचको ऐतिहासिक तथा जनस्तरको सम्बन्धले स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाएको उल्लेख गर्नुभएको छ।
भेटका क्रममा द्विपक्षीय स्वास्थ्य सहकार्य विस्तार, विशेषज्ञता आदान-प्रदान र गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धिका विषयमा छलफल भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेक पहिलो’ नीतिअनुसार नेपालसँगको स्वास्थ्य सहकार्यलाई अझ मजबुत बनाउन भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको मन्त्री नड्डाले स्पष्ट पार्नुभयो।
दुई देशबिच स्वास्थ्य क्षेत्रमा हुने सहकार्यले नागरिकहरूको स्वास्थ्य परिणाममा सुधार ल्याउनुका साथै समग्र क्षेत्रीय समृद्धिमा समेत ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
| विवरण | तथ्य / जानकारी |
| कार्यक्रम | बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठक |
| स्थान | कोलम्बो, श्रीलंका |
| नेपाली प्रतिनिधिमण्डल | स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र अन्य उच्च अधिकारीहरू |
| प्रमुख एजेन्डा | सङ्क्रामक रोग नियन्त्रण, एएमआर न्यूनीकरण, जलवायु स्वास्थ्य असर र स्वास्थ्य सुरक्षा |
| विशेष भेटवार्ता | भारतीय स्वास्थ्यमन्त्री जेपी नड्डासँग द्विपक्षीय भेट |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















प्रतिक्रिया दिनुहोस्