11/10/2026, 22:20:42
मङ्गलबार, कार्तिक २५, २०८३

नेपाल संवत् आन्दोलन लोकतान्त्रिक र सांस्कृतिक पहिचानको महत्त्वपूर्ण अध्याय हो : सभामुख अर्याल

काठमाडौँको वसन्तपुर डबलीमा आयोजित नेपाल संवत् ११४७ को विशेष समारोहमा वक्ताहरूले नेपाल संवत् कुनै एक समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएकोमा जोड दिएका छन्।

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, कात्तिक २४ गते । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको एक अत्यन्त महत्त्वपूर्ण अध्याय भएको बताउनुभएको छ।

न्हूँद राष्ट्रिय समारोह समितिद्वारा वसन्तपुर डबलीमा आयोजित नेपाल संवत् ११४७ को नयाँ वर्ष विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि यस अभियानले महत्त्वपूर्ण आवाज उठाएको स्मरण गर्नुभयो।

राष्ट्रिय विभूति शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्ने, नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता प्रदान गर्ने र सरकारी कागजातमा उल्लेख गर्ने निर्णयहरू यसै आन्दोलनका ठूला उपलब्धि रहेको चर्चा गर्नुहुँदै उहाँले अब यी उपलब्धिलाई व्यवहारमा उतार्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा यसको प्रयोग विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

FILE PHOTO - SETOPRESS.COM
FILE PHOTO – SETOPRESS.COM

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्दै आइरहेको जानकारी दिनुभयो। प्रदेशभित्रका १३ वटै जिल्लामा शङ्खधर साख्वा प्रतिष्ठानको स्थापना तथा नेपाल भाषाको विकास, संरक्षण र संवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको उहाँले स्पष्ट पार्नुभयो।

FILE PHOTO - SETOPRESS.COM
FILE PHOTO – SETOPRESS.COM

त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल भाषा सङ्घर्ष समितिका अग्रजहरूको निरन्तरको आन्दोलनकै कारण नेपाल संवत्ले आज राष्ट्रिय मान्यता प्राप्त गर्न सकेको धारणा व्यक्त गर्नुभयो।

FILE PHOTO - SETOPRESS.COM
FILE PHOTO – SETOPRESS.COM

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आजभन्दा ठिक ४७ वर्षअघि अर्थात् नेपाल संवत् ११०० देखि नै यस संवतलाई राष्ट्रिय मान्यता दिनुपर्ने माग उठ्दै आएको भए पनि गणतान्त्रिक सरकारले मात्रै यसलाई यथार्थमा परिणत गरेको बताउनुभयो। नेपाल भाषा आन्दोलन करिब पाँच दशक लामो यात्रा पार गरिसकेको उल्लेख गर्दै उहाँले यो अझै पनि सांस्कृतिक र राजनीतिक जागरणको एक सशक्त प्रतिविम्बका रूपमा जीवित रहेको बताउनुभयो।

नेपाल संवत् केवल समय गणना गर्ने पात्रो मात्र नभई यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको अमूल्य धरोहर भएको वक्ताहरूको भनाइ थियो। ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर राष्ट्रिय विभूति शङ्खधर साख्वाःले सुरु गर्नुभएको यस संवत्ले सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिने भएकोले यसको संरक्षण र पुस्तान्तरण आजको मुख्य आवश्यकता रहेकोमा सबैले जोड दिएका थिए।

विवरण तथ्य / जानकारी
कार्यक्रम नेपाल संवत् ११४७ को नयाँ वर्ष विशेष समारोह
आयोजक न्हूँद राष्ट्रिय समारोह समिति
स्थान वसन्तपुर डबली, काठमाडौँ
प्रमुख वक्ताहरू सभामुख डोलप्रसाद अर्याल, मुख्यमन्त्री किरण थापा, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, कार्यवाहक प्रमुख सुनिता डङ्गोल
मुख्य सन्देश नेपाल संवत् साझा राष्ट्रिय सम्पदा, प्रयोगको विस्तार र सांस्कृतिक पहिचानको जगेर्ना