काठमाडौँ, कात्तिक २४ गते । गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताले आत्मसात् गर्दै समयमै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ।
नेपाल संवत् ११४७ को अवसरमा ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आधुनिकता र पश्चिमीकरणको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान, संस्कार र सभ्यतालाई कहिल्यै बिर्सन नहुने स्पष्ट पार्नुभयो। ललितपुरको वास्तुकला, कला, संस्कृति र ऐतिहासिक संरचनाले नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा उच्च राख्न महत्त्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो।
पाटनसँग आफ्नो सामाजिक यात्राको गहिरो सम्बन्ध रहेको स्मरण गर्दै गृहमन्त्री गुरुङले ‘इनफ इज इनफ’ आन्दोलनका क्रममा आफू यही भूमिमा अनशन बसेको प्रसङ्ग उल्लेख गर्नुभयो। नेवार समुदायका जात्रा, पर्व र सामूहिक परम्पराहरूले समाजमा आपसी एकता र सद्भाव कायम गर्न ठुलो भूमिका खेलेको उहाँले बताउनुभयो।
आफ्नो बाल्यकालको स्मृति साझा गर्दै उहाँले घरमा नेवारी भाषा बोलिने गरेको र अहिले भाषा बोल्न केही छुटे पनि आफ्नो सांस्कृतिक पहिचान र पारिवारिक संस्कारप्रति सधैँ गर्व रहेको बताउनुभयो। कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा नेवार समुदायले गरेको प्रयास अत्यधिक प्रशंसनीय रहेको उहाँको भनाइ थियो।
तिहार र दीपावलीका अवसरमा घर-घरमा गएर देउसी–भैलो खेल्ने र सामूहिक रूपमा रमाइलो गर्ने परम्पराहरू क्रमशः साँघुरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै गृहमन्त्री गुरुङले सुरक्षा व्यवस्थाको कारणले मात्र सांस्कृतिक गतिविधिहरू सीमित हुन नहुने स्पष्ट पार्नुभयो। नागरिकलाई सुरक्षा प्रदान गर्ने राज्यको मुख्य दायित्व भएको उल्लेख गर्दै उहाँले सांस्कृतिक उत्सव र गतिविधिहरू २४ सै घण्टा सहज रूपमा सञ्चालन गर्न सक्ने आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
अग्रज पुस्ताले नयाँ पुस्तालाई संस्कार सिकाएझैँ अहिलेको पुस्ताले पनि भावी सन्तानलाई सांस्कृतिक विरासत हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेपाल संवत् ११४७ ले देश र समाजका लागि अझ राम्रो काम गर्ने प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो।
| विवरण | तथ्य / जानकारी |
| वक्ता / मन्त्री | सुधन गुरुङ (माननीय गृहमन्त्री) |
| कार्यक्रम | नेपाल संवत् ११४७ को विशेष समारोह |
| स्थान | कात्तिक डबली, पाटन दरबार क्षेत्र, ललितपुर |
| प्रमुख सन्देश | मौलिक संस्कृतिको पुस्तान्तरण, देउसी–भैलोको निरन्तरता र २४ सै घण्टा सुरक्षा व्यवस्था |
| विशेष प्रसङ्ग | पाटनसँगको आत्मीयता र ‘इनफ इज इनफ’ आन्दोलनको स्मरण |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














प्रतिक्रिया दिनुहोस्