काठमाडौँ, कात्तिक २४ गते । सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ११४७ को सु-अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदी-बहिनी तथा दाजु-भाइहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले नेपाल संवत् विशेष गरी नेवार समुदायको सांस्कृतिक जीवनसँग जोडिएको भए पनि यो समग्र नेपालीको एक साझा ऐतिहासिक सम्पदा भएको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका जनतालाई मुक्त गराएर प्रारम्भ गर्नुभएको यो मौलिक संवत्ले नेपालको सांस्कृतिक पहिचान, सामाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण इतिहास बोकेको उहाँको भनाइ छ।
जन-कल्याण, परोपकार र सामाजिक न्यायको भावना नेपाल संवत्का विशिष्ट सन्देशहरू रहेको उल्लेख गर्दै सभामुख अर्यालले यसले राष्ट्रिय मान्यता प्राप्त गरिसकेको सन्दर्भमा यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्न राज्य तथा नागरिक दुवै पक्षको उत्तिकै साझा दायित्व रहेको औँल्याउनुभएको छ। यसका लागि सरकारले नीतिगत तथा संस्थागत पहलहरूलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
मुलुकको भाषा, संस्कृति, सम्पदा र राष्ट्रिय पहिचानको जगेर्नासँग सम्बन्धित विषयहरूलाई कानुन निर्माण, नीतिगत बहस र संसद्को जवाफदेहितामार्फत उच्च प्राथमिकताका साथ सम्बोधन गरिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।
यस वर्ष प्राकृतिक विपद्का कारण देशका विभिन्न स्थानमा जनधनको क्षति पुगेको पीडादायी अवस्थाप्रति स्मरण गर्दै सभामुख अर्यालले प्रभावित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। विपद् प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको कार्यलाई अझ द्रुत गतिमा अगाडि बढाउन राज्यका सबै निकाय, स्थानीय तह र नागरिक समाजबीच बलियो सहकार्य अपरिहार्य रहेको उहाँले औँल्याउनुभएको छ।
अन्ततः, नेपाल संवत्ले सम्पूर्ण नेपालीमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गरोस् तथा राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिको यात्रालाई थप सुदृढ बनाउन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना उहाँले गर्नुभएको छ।
| विवरण | तथ्य / जानकारी |
| शुभकामना सन्देश दिने | डोलप्रसाद (डिपी) अर्याल (माननीय सभामुख) |
| अवसर | नेपाल संवत् ११४७ |
| प्रमुख सन्देश | नेपाल संवत् साझा सम्पदा, संरक्षण र पुस्तान्तरणको दायित्व |
| विशेष सन्दर्भ | प्राकृतिक विपद् प्रभावितहरूको उद्धार, राहत तथा पुनर्निर्माणमा जोड |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















प्रतिक्रिया दिनुहोस्