11/09/2026, 22:09:58
सोमबार, कार्तिक २४, २०८३
*** स्वास्थ्यलाई जलवायु कार्यको केन्द्रमाः विश्वव्यापी परिप्रेक्ष्य ***

जलवायु परिवर्तनलाई वातावरणीय मात्र नभई गम्भीर जनस्वास्थ्य सङ्कटका रूपमा लिनुपर्छ : मन्त्री निशा मेहता

टर्किएको आन्ताल्यामा जारी कोप–३१ सम्मेलनमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ययोजनाको केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभएको छ।

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौं, कात्तिक २३ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनका कारण उत्पन्न हुने स्वास्थ्य सङ्कटलाई प्रभावकारी रूपमा न्यूनीकरण गर्न स्वास्थ्य क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु कार्ययोजनाको केन्द्रबिन्दुमा राख्नुपर्ने स्पष्ट पार्नुभएको छ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपालको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र आईपीएएससँगको सहकार्यमा आयोजित ‘स्वास्थ्यलाई जलवायु कार्यको केन्द्रमाः विश्वव्यापी परिप्रेक्ष्य’ विषयक विशेष छलफलको अध्यक्षता गर्दै उहाँले सो कुरा बताउनुभएको हो। जलवायु परिवर्तनलाई केवल वातावरणीय समस्या मात्रै नभएर गम्भीर जनस्वास्थ्य सङ्कटका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ छ।

मन्त्री मेहताले बाढी, पहिरो, अत्यधिक गर्मी, सङ्क्रामक रोगहरूको बदलिँदो स्वरूप तथा खाद्य असुरक्षालगायतका जलवायु परिवर्तनका असरहरूले नागरिकको स्वास्थ्य र अत्यावश्यक स्वास्थ्य सेवामा प्रत्यक्ष प्रहार गरिरहेको औँल्याउनुभयो।

नेपालको वास्तविक अनुभव प्रस्तुत गर्दै उहाँले रसुवामा गएको विनाशकारी बाढीका कारण जनजीवन, जीविकोपार्जन र स्वास्थ्य सेवाको पहुँचमा परेको असरलाई जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य जोखिमको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। यस्ता विपद्ले स्वास्थ्य संस्थाका पूर्वाधारमा क्षति पुर्याउनुका साथै औषधी तथा स्वास्थ्य सामग्रीको आपूर्ति र नियमित सेवा प्रवाहसमेत प्रभावित हुने गरेको उहाँले बताउनुभयो।

नेपालजस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका अल्पविकसित मुलुकहरूका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज, पूर्वानुमानयोग्य र अनुदानमा आधारित पहुँच अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री मेहताले विकसित राष्ट्रहरूलाई यसमा गम्भीर सहयोग गर्न आग्रह गर्नुभयो। जलवायु अनुकूलनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ययोजना, वित्तीय व्यवस्था र नीतिगत प्रतिबद्धतामा स्वास्थ्य क्षेत्रका सूचकहरूलाई प्राथमिकताका साथ समेट्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।

साथै, जलवायु परिवर्तनका कारण हुने मृत्यु, रोगको भार, मानसिक स्वास्थ्य असर र पूर्वाधार क्षतिको आर्थिक तथा गैरआर्थिक प्रभावको व्यवस्थित मूल्याङ्कन गरिनुपर्ने उहाँको भनाइ थियो।

सो विशेष छलफलमा विश्व स्वास्थ्य सङ्गठनका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. ज्ञानेन्द्र घोगल, पाकिस्तानस्थित दस्तक फाउन्डेसनकी संस्थापक हिरा अमजद र नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहिया लगायतले जलवायु र स्वास्थ्यबीचको अन्तरसम्बन्धबारे आफ्नो धारणा राखेका थिए।

कार्यक्रमको समापनमा मन्त्री मेहताले स्वस्थ नागरिकबिنا उत्थानशील भविष्य निर्माण हुन नसक्ने बताउँदै जलवायुसम्बन्धी हरेक कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्नुपर्ने सन्देश दिनुभयो।

विवरण तथ्य / जानकारी
वक्ता / मन्त्री निशा मेहता (स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री)
कार्यक्रम कोप–३१ अन्तर्गत ‘स्वास्थ्यलाई जलवायु कार्यको केन्द्रमा’ विषयक विशेष छलफल
आयोजक स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, डब्लुएचओ र आईपीएएस
मुख्य माग जलवायु वित्तमा सहज पहुँच, अनुदान र स्वास्थ्यलाई कार्ययोजनाको केन्द्रमा राख्ने
प्रमुख वक्ताहरू डा. ज्ञानेन्द्र घोगल, हिरा अमजद, लिला पिटर्स याहिया