11/05/2026, 21:36:24
बिहिबार, कार्तिक २०, २०८३

व्यक्तिभन्दा सिस्टम र राज्यको नीति पुग्नुपर्छ: रास्वपा सभापति लामिछाने

चितवन क्षेत्र नं. २ का सांसदसमेत रहनुभएका लामिछानेले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राज्यका नीति र पार्टीको संरचना देशैभर पुगिरहेको बताएका छन्।

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

चितवन, कात्तिक १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेले कुनै पनि क्षेत्रमा निर्वाचित जनप्रतिनिधि स्वयम् उपस्थित हुनुभन्दा पनि त्यहाँ नीति र व्यवस्थित प्रणाली पुग्नुपर्नेमा जोड दिनुभएको छ।

चितवन आएलगत्तै भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले आफू व्यक्तिगत रूपमा चितवन केही ढिला आए पनि पार्टीको संरचना र सरकारका नीतिहरू भने देशैभरि प्रभावकारी रूपमा अघि बढिरहेको स्पष्ट पार्नुभयो।

“जिम्मेवारी धेरै छ, तर व्यक्तिभन्दा सिस्टम आउनुपर्छ भन्ने सोचका कारण व्यक्तिका रूपमा म ढिला आए पनि सरकारको रूपमा, पार्टीको रूपमा पार्टीको संरचना, सरकारका नीतिहरू देशभरी पुगिरहेका छन्,” उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य पनि त्यही हो। व्यक्ति आउनुभन्दा पनि नीति आउनुपर्यो। राज्यको नीति आउने क्रम जारी छ।” उहाँको यो भनाइले व्यक्तिकेन्द्रित राजनीतिभन्दा संस्थागत विकास र नीतिगत सुशासनमा जोड दिने रास्वपाको राजनीतिक एजेन्डालाई प्रस्ट्याएको छ।

चितवनका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन शुक्रबारसम्म यहीँ रहने कार्यक्रम, रास्वपा चितवनका सभापति इन्जिनियर मिनिमाधव खनालले जानकारी दिनुभएको छ। चितवन आएलगत्तै सभापति लामिछानेले पार्टी कार्यालयमा जिल्ला, क्षेत्र र स्थानीय तहका पदाधिकारीहरूसँग सांगठनिक सुदृढीकरण तथा समसामयिक विषयमा छलफल गर्नुभएको छ।

साथै, उहाँले शुक्रबार बिहान नारायणी नदी किनारको कटान क्षेत्रको स्थलगगत अवलोकन गर्ने र सम्बन्धित सरोकारवाला पक्षहरूसँग गम्भीर छलफल गर्ने कार्यसूची रहेको छ।

राजनीतिक भेटघाट, सांगठनिक गतिविधि र स्थानीय विकास तथा समस्या समाधानका मुद्धालाई एकसाथ अगाडि बढाउने सभापति लामिछानेको यो भ्रमणले स्थानीय कार्यकर्ताहरूमा नयाँ उत्साह थप्नुका साथै विकास निर्माणका समस्याहरूमा थप दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

विवरण तथ्य / जानकारी
राजनीतिक व्यक्तित्व रवि लामिछाने (सभापति, रास्वपा तथा प्रतिनिधिसभा सदस्य, चितवन-२)
प्रमुख भनाइ “व्यक्ति आउनुभन्दा पनि नीति र सिस्टम आउनुपर्छ”
भ्रमणको उद्देश्य सांगठनिक छलफल, स्थानीय कार्यक्रम र कटान क्षेत्रको अवलोकन
स्थानीय आयोजक मिनिमाधव खनाल (जिल्ला सभापति, रास्वपा चितवन)
मुख्य कार्यसूची पार्टी पदाधिकारीहरूसँग बैठक र नारायणी नदी कटान क्षेत्रको अवलोकन