बिर्तामोड, कार्तिक १६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सुकुम्वासी र लालपुर्जाको विषयलाई अब उप्रान्त चुनावी एजेण्डा नबनाउनेगरी सरकारले काम थालेको स्पष्ट पार्नुभएको छ।
सोमबार झापाको कनकाई नगरपालिका–७ स्थित सुकुम्बासी बस्तीको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री रावलले वर्तमान सरकारले कुनै पनि हालतमा यसलाई राजनीतिक नारा बन्न नदिने र सबै समस्या छिटोभन्दा छिटो हल गर्ने बताउनुभयो। नयाँ सरकार गठन भएपछि प्रधानमन्त्रीले धनीपुर्जा वितरणको समस्या समाधानका लागि एक हजार दिनको समयसीमा तोके पनि त्यसभन्दा अगाडि नै काम सम्पन्न गर्नेगरी तयारी भइरहेको उहाँको भनाइ छ।
मन्त्री रावलले आवश्यक पर्ने ऐन–कानुनहरू अध्यादेशमार्फत ल्याइसकेको र आवश्यकता अनुसार कानुन परिमार्जन गर्नसमेत सरकार तयार रहेको उल्लेख गर्नुभयो। यसअघिका सरकारहरूले आश्वासन मात्रै दिएको जनताको गुनासो रहेको बताउँदै उहाँले यो सरकारले बोलेर होइन काम गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो। यसैबीच, लामो समयदेखि अड्किएर बसेको पूर्वपश्चिम रेलमार्गका जग्गाधनीहरूका लागि समेत सरकारले सकेसम्म चाँडै मुआब्जा वितरणको कामलाई तीव्रता दिने उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अध्यादेशमार्फत नीतिगत जटिलताहरू हटेकाले अब जिल्लामा जग्गा दर्ता तथा धनीपुर्जा वितरण प्रक्रियाले तीव्र गति लिने बताए।
त्यस्तै, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले अध्यादेशमार्फत भूमि ऐनका समस्याहरू समाधान भएकाले अब नगरपालिका क्षेत्रमा रोकिएका लालपुर्जा वितरणको काम सहज हुने विश्वास व्यक्त गरे। कार्यक्रममा वडा अध्यक्षहरू भीष्मभुषण सिटौला र लक्ष्मीप्रसाद ओली लगायतले स्थानीय स्तरका समस्याहरूबारे जानकारी गराएका थिए।
सोमबार नै मन्त्री रावलले झापाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र कार्यालय प्रमुखहरूसँग भेटघाट गर्दै लालपुर्जा वितरणमा ढिलासुस्ती नगर्न कूटनीतिक रूपमा सचेत गराउनुभएको छ। सरकार कानुन बनाउन र आवश्यक सहयोग गर्न तयार रहेको तर कर्मचारीतन्त्र पनि उत्तिकै तत्पर हुनुपर्ने उहाँको भनाइ थियो।
उक्त अवलोकन तथा अन्तर्क्रिया कार्यक्रममा सांसदहरू प्रकाश पाठक, शम्भु ढकाल र रमेश प्रसाईं लगायतको उपस्थिति रहेको थियो।
| विवरण | तथ्य / जानकारी |
| प्रमुख व्यक्तित्व | प्रतिभा रावल (मन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय) |
| कार्यक्रम स्थल | कनकाई नगरपालिका–७, झापा |
| मुख्य प्रतिबद्धता | सुकुम्वासी र लालपुर्जाको समस्यालाई चुनावी एजेण्डा बन्न नदिने, समयसीमा अगावै समाधान गर्ने |
| प्रमुख उपस्थिति | प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, सांसदहरू प्रकाश पाठक, शम्भु ढकाल र रमेश प्रसाईं |
| अन्य विषय | रेलमार्गका जग्गाधनीलाई मुआब्जा वितरण तीव्र बनाउने र प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशनात्मक भेटघाट |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









प्रतिक्रिया दिनुहोस्