11/16/2026, 13:00:35
सोमबार, मङि्सर ०१, २०८३

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै : ५ वटै जङ्गल सफारी रुट सञ्चालनमा, एकीकृत ‘सफारी प्याकेज’ को तयारी

पाटेबाघ, चौका, हात्ती तथा चराचुरुङ्गी अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि बाँके राष्ट्रिय निकुञ्जका सबै जङ्गल सफारी रुट सञ्चालनमा ल्याइएको छ भने पर्यटकको बसाइ लम्ब्याउन विशेष प्याकेजको पहल गरिएको छ।


बाँके, कात्तिक ३० गते । पाटेबाघ लगायत विभिन्न दुर्लभ वन्यजन्तु तथा प्राकृतिक सौन्दर्य अवलोकनका लागि प्रमुख गन्तव्य बन्दै गएको बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको चहल-पहल उल्लेख्य रूपमा बढेको छ।

पर्यटकको आगमनमा भएको वृद्धिलाई मध्यनजर गर्दै निकुञ्ज प्रशासनले आफ्ना पाँच वटै जङ्गल सफारी रुटहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ। यससँगै पाटेबाघ, चौका, हात्ती, विभिन्न प्रजातििका चरा-चुरुङ्गी तथा अन्य वन्यजन्तुहरू नजिकैबाट अवलोकन गर्ने अवसर थप फराकिलो भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभएको छ।

निकुञ्जका पाँचवटै रुट सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यटन प्रवर्धन गर्न तथा पर्यटकहरूको बसाइ अवधि लम्ब्याउन नेपालगन्ज र कोहलपुरका होटल तथा पर्यटन व्यवसायीहरूले विशेष पहल थालेका छन्।

PHOTO CREDIR : Rhino Spot Resort & The Game Farm- Kalij Farm

होटल एसोसिएसन नेपाल (हान) बाँके च्याप्टर र नाट्टा बाँकेको सहकार्यमा विशेष गरी भारतीय तथा अन्य बाह्य र आन्तरिक पर्यटकहरूलाई लक्षित गर्दै एकीकृत ‘सफारी प्याकेज’ निर्माणको तयारी भइरहेको छ। नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीका अनुसार प्रस्तावित उक्त प्याकेजमा होटलदेखि निकुञ्जसम्मको यातायात, अनुभवी नेचर गाइड, जिप सफारी, प्रवेश शुल्क र स्थानीय परिकारका सेवाहरू समेटिनेछन्, जसले पर्यटकलाई कम्तीमा दुई दिनसम्म बस्न प्रेरित गर्नेछ।

भौगोलिक बनावट र जैविक विविधताका हिसाबले अन्य निकुञ्जभन्दा पृथक मानिने बाँके राष्ट्रिय निकुञ्जमा चुरे पहाड, भावर क्षेत्र, ठूला रूखहरू तथा जडीबुटीजन्य वनस्पति पाइने भएकाले प्रकृतिप्रेमी पर्यटकहरूका लागि यो विशेष आकर्षणको केन्द्र बनेको छ। मुख्यतः पाटेबाघको संरक्षणका लागि स्थापित यस निकुञ्जमा हाल ५१ वटा पाटेबाघ रहेका छन् भने तिनको अनुगमनका लागि लेजर प्रविधि र सिसिटिभी क्यामेराहरूको प्रयोग गरिएको छ।

यसका साथै, यहाँ तीन सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी, ५५ प्रजातिका माछा, २४ प्रजातिका सरीसृप, ३४ प्रजातिका स्तनधारी तथा नेपाल र भारतमा मात्र पाइने विशिष्ट वन्यजन्तु ‘चौका’ समेत पाइने भएकाले यस क्षेत्रको जैविक महत्त्व निकै उच्च रहेको छ।

विवरण तथ्य / जानकारी
मुख्य गन्तव्य बाँके राष्ट्रिय निकुञ्ज
मुख्य गतिविधि पाँचवटै जङ्गल सफारी रुट सञ्चालनमा र एकीकृत ‘सफारी प्याकेज’ को पहल
प्रमुख आकर्षणहरू पाटेबाघ (५१ वटा), चौका, ३००+ प्रजातिको चराचुरुङ्गी र जैविक विविधता
सम्बद्ध निकायहरू निकुञ्ज कार्यालय, हान बाँके र नाट्टा बाँके
मुख्य उद्देश्य पर्यटकको बसाइ अवधि बढाउने र पर्यटन प्रवर्धन गर्ने