11/16/2026, 05:53:38
सोमबार, मङि्सर ०१, २०८३
- एन्टाल्या कार्ययोजना प्रोटोकलः हरित शिक्षाको केन्द्रमा बालबालिका, युवा र शिक्षकहरू -

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षा अनिवार्य गरिने : मन्त्री सस्मित पोखरेल

टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ सम्मेलनलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको शिक्षा प्रणाली र भौतिक पूर्वाधारलाई जलवायु अनुकूलित बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ।

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, कात्तिक २९ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनका कारण उत्पन्न असरलाई न्यूनीकरण गर्न भौतिक पूर्वाधारहरूको पुनःसंरचना गर्नुका साथै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्।

टर्कीको अन्ताल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत ‘एन्टाल्या कार्ययोजना प्रोटोकलः हरित शिक्षाको केन्द्रमा बालबालिका, युवा र शिक्षकहरू’ विषयक उच्चस्तरीय मन्त्रीस्तरीय छलफलमा सहभागी हुँदै उहाँले नेपालले शिक्षा प्रणालीमार्फत जलवायु अनुकूलनको दीर्घकालीन आधार तयार गरिरहेको जानकारी दिनुभएको हो।

छफलका क्रममा मन्त्री पोखरेलले नेपालको शैक्षिक क्षेत्र जलवायु सङ्कटका कारण दोहोरो मारमा परेको यथार्थ प्रस्तुत गर्नुभयो। हिमालमा हिमताल विस्फोट, पहाडमा पहिरो तथा तराईमा बाढी र अत्यधिक तापक्रम (हिट वेभ) का कारण नियमित पठन-पाठनमा गम्भीर अवरोध सिर्जना भएको र विगतमा जोखिम मूल्याङ्कनबिना निर्माण गरिएका विद्यालयका भौतिक संरचनाहरू असुरक्षित बन्दै गएको उहाँले औँल्याउनुभयो।

केही समयअघि नदीको सतह बढेर केही सेकेन्डमै बस्तीसहित विद्यालय भवनहरूमा क्षति पुगेको घटना स्मरण गराउँदै अब जोखिम मूल्याङ्कनमा आधारित पूर्वाधार विकास अपरिहार्य भएकोमा उहाँले जोड दिनुभयो।

काठमाडौँ महानगरपालिकाका ९० वटा विद्यालयमा गरिएको सफल परीक्षणको सिकाइबाट प्रेरित भई हाल देशभरका करिब २७ हजार सामुदायिक विद्यालयहरूको भौतिक संरचना, विपद् जोखिम र भवन संहिता अनुसार न्यूनतम ६० प्रतिशत खुला क्षेत्र भए–नभएको विस्तृत अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो।

उक्त अध्ययन पश्चात तयार हुने गुरुयोजना (मास्टर प्लान) ले सुरक्षित विद्यालय निर्माण गर्न र राज्यको स्रोत-साधनको दिगो व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

जलवायु परिवर्तनको दीर्घकालीन प्रभावबाट विश्वका कुनै पनि सभ्यता सुरक्षित नरहने भन्दै मन्त्री पोखरेलले सबै देशहरू वैचारिक विभाजनभन्दा माथि उठेर शैक्षिक तथा वैज्ञानिक सहकार्यमार्फत एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

विवरण तथ्य / जानकारी
वक्ता सस्मित पोखरेल (शिक्षा तथा खेलकुदमन्त्री, नेपाल)
कार्यक्रम जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१), अन्ताल्या, टर्की
मुख्य विषय पाठ्यक्रममा जलवायु शिक्षा र सुरक्षित विद्यालय पूर्वाधार
योजना देशैभरका करिब २७ हजार सामुदायिक विद्यालयको विस्तृत अध्ययन र गुरुयोजना निर्माण
मुख्य जोड विपद् जोखिम न्यूनीकरण र शैक्षिक सहकार्य