11/18/2026, 21:43:44
बुधबार, मङि्सर ०३, २०८३

देशका कुनै पनि नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिने सरकारको प्रतिबद्धता : आगामी डेढ वर्षभित्र १६०० टावर निर्माण हुँदै

सिन्धुपाल्चोकको जुगल गाउँपालिका तथा आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको मागसहित पुगेका जनप्रतिनिधि र स्थानीयसँगको छलफलमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ।

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, मङ्सिर २ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशका कुनै पनि नागरिकलाई टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचबाट वञ्चित हुन नदिने सरकारको दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका विभिन्न बस्तीहरू तथा जुगल हिमाल र आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको माग गर्दै मन्त्रालयमा पुगेका जनप्रतिनिधि तथा स्थानीय युवाहरूसँगको छलफलका क्रममा उहाँले मानव बस्ती भएका सबै स्थानमा दूरसञ्चार सेवा पुर्याउन काम भइरहेको जानकारी दिनुभयो।

उक्त छलफलमा काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य प्रदीप विष्ट, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) लगायत स्थानीय युवाहरूको सहभागिता रहेको थियो।

छलफलका अवसरमा सांसद प्रदीप विष्टले काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर प्रभावकारी नभएको गुनासो बढेको उल्लेख गर्दै दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवाको पहुँच र गुणस्तर तत्काल सुधार गर्न आग्रह गर्नुभयो। त्यसको जवाफमा सञ्चारमन्त्री तिमिल्सिनाले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालनमार्फत देशभर नयाँ पूर्वाधार निर्माणका कामहरू अघि बढाइएको स्पष्ट पार्नुभयो।

उहाँले आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप एक हजार ६०० वटा टेलिफोन टावर निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको र करिब १२ अर्ब रुपैयाँ बराबरको ठेक्का प्रक्रियासमेत अघि बढिसकेको जानकारी दिनुभयो।

टावर निर्माणमा बजेट अभावभन्दा पनि प्रक्रियागत जटिलता मुख्य चुनौती रहेको औँल्याउँदै मन्त्री तिमिल्सिनाले नागरिकका गुनासाहरूलाई प्राथमिकतामा राखेर तत्काल सम्बोधन गर्न मातहतका निकायलाई कडा निर्देशन दिनुभयो। विद्युत् सुविधा नपुगेका स्थानमा उच्च क्षमताका सौर्य ऊर्जा प्रणाली र ब्याट्रीको व्यवस्था गरी टावर सञ्चालन गर्न तथा नियमित निरीक्षणमार्फत सेवाको क्षमता वृद्धि गर्न उहाँले जोड दिनुभयो।

सोही क्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले जुगल गाउँपालिकामा तत्काल प्राविधिक टोली पठाएर स्थलगत अध्ययन गरिने र स्थानीय तहको सहयोगमा समस्याको समाधान गरिँदै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय युवाहरूले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन भइरहेको सन्दर्भमा पर्यटकहरूको आवागमन बढे पनि सञ्चार सुविधाको अभाव प्रमुख चुनौती बनेको बताएका छन्। उनीहरूले मेलम्ची डाँडा र पाङ्ग्रेप डाँडामा रहेका टावरहरूको मर्मत गरी फोरजी सेवा प्रभावकारी बनाउन तथा चार हजार पाँच सय मिटर उचाइमा रहेको जुगल भ्यूपोइन्ट, आधार शिविर, बोल्दे, गुम्बा, क्याङसिङ, अम्बाखर्क, तेम्बाथान र दिप्पुङ लगायतका बस्तीमा भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा सुनिश्चित गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका छन्।

विवरण तथ्य / जानकारी
मुख्य वक्ता डा. विक्रम तिमिल्सिना (सूचना तथा सञ्चारमन्त्री)
प्रमुख योजना आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका १६०० वटा नयाँ टावर निर्माण (रु. १२ अर्बको ठेक्का प्रक्रिया)
मुख्य माग जुगल गाउँपालिका, जुगल हिमाल र आधार शिविर क्षेत्रमा सञ्चार तथा फोरजी सेवा विस्तार
सहभागीहरू सांसद प्रदीप विष्ट, टेलिकम प्रबन्ध निर्देशक संगीता पहाडी र जुगलका स्थानीय युवा