11/19/2026, 16:14:46
बिहिबार, मङि्सर ०४, २०८३

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्व-मुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने श्रमिकमाथि भएको ठगी र गैरकानुनी रकम स्थानान्तरण प्रकरणमा संलग्नता देखिएपछि पूर्व-मुख्यसचिव एकनारायण अर्यालविरुद्ध सीआईबीले अदालतबाट पक्राउ पुर्जी लिएको छ।


काठमाडौँ, मङ्सिर ३ गते । मलेसिया जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा जोडिएपछि पूर्व-मुख्यसचिव एकनारायण अर्यालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अदालतबाट पक्राउ अनुमति लिए पनि अर्याल भने हालसम्म पक्राउ परिसकेका छैनन्।

श्रमिकमाथि ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई बुधबार पक्राउ गरेको थियो। सोही प्रकरणमा अघि बढाइएको अनुसन्धानका क्रममा अर्यालको समेत संलग्नता पाइएपछि अदालतबाट पक्राउ पुर्जी लिइएको सीआईबीका एक अधिकारीले जानकारी दिनुभयो।

सीआईबीले बुधबार पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन उच्च पदस्थ अधिकारीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहनुभएको छ।

प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको आरोप छ।

उक्त ठगी तथा अपचलन रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ रहेको सीआईबीको विज्ञप्तिमा उल्लेख छ।

द्विपक्षीय सम्झौता र कानुनी प्रक्रिया मिचेर विदेशी मुद्रा अपचलन गराउने तथा संगठित समूहको लाभका लागि श्रमिकमाथि ठगी हुँदा समेत कानुनी उपचार नगरेको आरोपमा संलग्नहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

उच्च राजनीतिक, प्रशासनिक र पूर्वमुख्यसचिव तहसम्मको नाम जोडिएपछि यो प्रकरण थप चर्चामा आएको छ।

विवरण तथ्य / जानकारी
पक्राउ पुर्जी जारी एकनारायण अर्याल (पूर्वमुख्यसचिव – पक्राउ पर्न बाँकी)
पक्राउ परेका व्यक्तिहरू शेरबहादुर कुँवर, रामेश्वर राय यादव, विनोद केसी, उमेश ढुंगाना, राजीव पोखरेल, निर्मला गुरुङ
अनुसन्धान गर्ने निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)
ठगी तथा अपचलन रकम कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ($83,70,439 र £37,17,980)
कसुर ठगी तथा संगठित अपराध