काठमाडौँ, मङ्सिर ३ गते । काठमाडौँमा आयोजित ‘ग्लोबल करेन्ट्स, लोकल कम्पास : नेपालको आगामी पुस्ताको कूटनीति’ विषयक सेमिनारलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित, राष्ट्रिय सम्पदा र देशको वास्तविकतामा आधारित हुनुपर्ने बताउनुभएको छ।
तीव्र गतिमा परिवर्तन भइरहेको विश्व परिवेशमा नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले परम्परागत रूपमा सीमित कूटनीतिलाई विस्तार गरी नागरिक समाज, निजी क्षेत्र, नवप्रवर्तक तथा विज्ञ र ज्ञान समुदायलाई समेट्ने सहकार्यमा आधारित अभ्यास अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो।
नयाँ पुस्ताका कूटनीतिज्ञलाई प्रविधि र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी ज्ञान तथा सीपले सुसज्जित बनाउनुपर्ने उल्लेख गर्दै मन्त्री खनालले एआईको सुशासन, साइबर सुरक्षा र तथ्याङ्कको सार्वभौमिकतालाई राष्ट्रिय सुरक्षाका प्रमुख प्राथमिकताका रूपमा लिनुपर्ने बताउनुभयो।
त्यसैगरी, जलवायु न्याय र स्वच्छ ऊर्जाको प्रवर्द्धन पनि नेपालको कूटनीतिक प्राथमिकतामा रहनुपर्ने उहाँको भनाइ थियो। हिमालय क्षेत्रलाई विश्वको ‘तेस्रो ध्रुव’ का रूपमा संरक्षण गर्न वैज्ञानिक तथ्य र नैतिक पैरवीलाई एकसाथ अघि बढाउनुपर्ने तथा नेपालको स्वच्छ जलविद्युत् ऊर्जामार्फत क्षेत्रीय कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुर्याउन सकिने उहाँले स्पष्ट पार्नुभयो।
वैदेशिक रोजगारी र मानव आवागमनलाई कूटनीतिको अर्को महत्त्वपूर्ण आयामका रूपमा प्रस्तुत गर्दै उहाँले विदेशमा रहेका नेपाली श्रमिकको अधिकार र मर्यादाको संरक्षणसँगै सीपमा आधारित साझेदारी र गैर-आवासीय नेपाली समुदायको लगानी परिचालनका लागि संस्थागत र स्वदेशकै स्वामित्वमा रहने संयन्त्र विकास गर्नुपर्नेमा जोड दिनुभयो। आगामी पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक चिन्तन, अनुकूलन क्षमता, सहानुभूति, सहकार्य र जीवनपर्यन्त सिकाइलाई मुख्य सीपका रूपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो।
परराष्ट्रमन्त्री खनालले बदलिँदो विश्व व्यवस्थामा आफ्नो राष्ट्रिय हित र पहिचानलाई केन्द्रमा राख्दै रणनीतिक स्पष्टता, संस्थागत क्षमता र अन्तर्राष्ट्रिय सञ्जालको प्रभावकारी परिचालनमार्फत नेपालको कूटनीतिक उपस्थिति अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।
| विवरण | तथ्य / जानकारी |
| वक्ता | शिशिर खनाल (परराष्ट्रमन्त्री) |
| कार्यक्रम | ‘ग्लोबल करेन्ट्स, लोकल कम्पास : नेपालको आगामी पुस्ताको कूटनीति’ सेमिनार, काठमाडौँ |
| प्रमुख प्राथमिकताहरू | एआई सुशासन, साइबर सुरक्षा, तथ्याङ्क सार्वभौमिकता, जलवायु न्याय र स्वच्छ ऊर्जा |
| वैदेशिक रोजगारी तथा कूटनीति | श्रमिक अधिकार संरक्षण, सीप साझेदारी, लगानी परिचालन र सहकार्यमा आधारित कूटनीति |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













प्रतिक्रिया दिनुहोस्