काठमाडौँ, मङ्सिर ७ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप र नवीन प्रविधिबिच उद्योगका रूपमा विकास भइरहेको अवस्थालाई सम्बोधन गर्नेगरी चलचित्र विधेयक ल्याइएको बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा उहाँले चलचित्र मनोरञ्जनको साधन मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने उद्योग बनिसकेकाले विदेशी लगानी भित्र्याउने विषयमा पुनर्विचार गर्न आवश्यक रहेको उल्लेख गर्दै समिति र संसद्बाट प्राप्त रचनात्मक सुझाव समेट्ने प्रतिबद्धता जनाउनुभयो ।
सञ्चार मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेलले संविधानको धारा ५१ को सामाजिक तथा सांस्कृतिक रूपान्तरण नीति कार्यान्वयन गर्न, चलचित्र विकास बोर्डको अन्तरराष्ट्रिय सञ्जाल तथा सम्बन्ध व्यवस्थित गर्न र २०२६ सालदेखि लागू पुरानो ऐनलाई सङ्घीय संरचना, समावेशिता र नयाँ प्रविधिअनुकूल बनाउन नयाँ चलचित्र ऐन आवश्यक रहेको बताउनुभयो ।
प्रस्तावित विधेयकमा चलचित्रमार्फत नेपाललाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि अनिवार्य जाँच गर्ने, आर्थिक कारोबार पारदर्शी बनाउन ‘बक्स अफिस’ प्रणालीलाई अनिवार्य र व्यवस्थित गर्ने तथा चलचित्र विकास बोर्डलाई थप अधिकार सम्पन्न, सक्षम र स्वायत्त निकायका रूपमा विकास गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
यसैगरी चलचित्रकर्मीको श्रम अधिकार संरक्षण, मातृभाषाका चलचित्रको प्रवर्द्धन, आदिवासी जनजाति समुदायका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण, स्वदेशी बजार विस्तार, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई कानुनी रूपमा व्यवस्थित गरी नेपाली चलचित्रलाई सिर्जनशील, सांस्कृतिक तथा मनोरञ्जन उद्योगका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| मन्त्री र सचिवको धारणा | डा. विक्रम तिमिल्सिनाद्वारा चलचित्रलाई उद्योगका रूपमा विकास र विदेशी लगानीमा पुनर्विचारको जोड; सचिव राजेन्द्रप्रसाद पौडेलद्वारा २०२६ को ऐन परिमार्जन र धारा ५१ कार्यान्वयनको उल्लेख । |
| प्रमुख प्रस्तावित व्यवस्था | ‘बक्स अफिस’ प्रणाली अनिवार्य र व्यवस्थित; चलचित्र विकास बोर्डलाई स्वायत्त र अधिकार सम्पन्न; प्रदर्शनअघि अनिवार्य जाँच र पर्यटन प्रवर्द्धन । |
| संरक्षण र विकास लक्ष्य | चलचित्रकर्मीको श्रम अधिकार, मातृभाषा र आदिवासी जनजाति चलचित्र संरक्षण; नयाँ प्रविधि प्रयोग र स्वदेशी/अन्तरराष्ट्रिय बजार विस्तार । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













प्रतिक्रिया दिनुहोस्