08/26/2026, 20:03:55
बुधबार, भदौ १०, २०८३

बाढी प्रभावितको उद्धार र राहतका लागि भारत, चीन र विश्व बैंकको तत्काल सहयोग


काठमाडौँ, भदौ १० गते । नेपालमा गएको बाढीपहिरोपछि उत्पन्न विपद्को यस कठिन घडीमा छिमेकी मुलुक भारत, चीन तथा विश्व बैंकले तत्काल उद्धार, राहत र पुनर्निर्माणका लागि सहयोगको प्रक्रिया अगाडि बढाएका छन्। बाढीको खबर सार्वजनिक हुनासाथ विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले आपत्कालीन सहयोगस्वरूप करिब २५ अर्ब रुपियाँसम्म उपलब्ध गराउन सकिने जानकारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई गराउनुभएको छ।

दक्षिणी छिमेकी भारतले तत्काल आवश्यक पर्ने राहत सामग्रीहरूको सूची माग गर्दै परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आजै राहत सामग्री काठमाडौँ ल्याउने तयारी गरिरहेको छ। उता उत्तरी छिमेकी चीनले पनि विपद् व्यवस्थापन र राहतका लागि तत्काल नगद सहयोग पठाउने प्रक्रिया सुरु गर्न नेपाल सरकारलाई आग्रह गरिसकेको छ।

हालै बसेको मन्त्रिपरिषद्को बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेसँगै वैदेशिक तथा घरेलु सहयोग जुटाउने बाटो सहज भएको छ। मित्रराष्ट्र तथा दातृ निकायहरूले देखाएको यस ऐक्यबद्धताप्रति अर्थ मन्त्रालयले आभार व्यक्त गर्दै सहयोगको उचित मोडालिटीका लागि छलफल अगाडि बढाएको छ।