08/26/2026, 10:03:01
बुधबार, भदौ १०, २०८३

देशभर बदली र वर्षाको सम्भावना, कोशी र बागमतीमा भारी वर्षाको चेतावनी


काठमाडौँ, भदौ १० गते । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने र विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको तराईका धेरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। मधेश तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। तराईका केही स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ।

रातिको समयमा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ।