10/26/2026, 16:49:29
सोमबार, कार्तिक १०, २०८३

घट्यो सेयर बजार : नेप्से ४.३४ अंकले घट्दै २६२९ विन्दुमा कायम

दसैंअघि लगातार ७ दिन बढेको सेयर बजारमा दसैंपछिको पहिलो दिन सामान्य गिरावट आएको छ भने कारोबार रकम पनि घटेर ४ अर्बमा सीमित भएको छ।


काठमाडौँ, कात्तिक ९ गते । दसैंअघि लगातार सात कारोबार दिनसम्म लगातार बढेको सेयर बजार दसैंपछिको पहिलो कारोबार दिन भने घटेको छ। सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९ अंकमा कायम भएको छ।

बजारमा आएको यस सामान्य गिरावटसँगै ९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ वटा कम्पनीको घटेको छ। त्यस्तै, ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ। यसअघि ४ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएकोमा आज घटेर ४ अर्ब रुपैयाँमा झरेको छ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहमा लगानीकर्ताको विशेष आकर्षण देखिएको छ। उत्पादन तथा प्रशोधन समूह १.०३ प्रतिशत र व्यापार समूह १.११ प्रतिशतले बढेका छन्। व्यापार समूहअन्तर्गत पर्ने विशाल बजार कम्पनीको मूल्य १.४१ प्रतिशतले बढ्दा समग्र व्यापार समूह नै उकालो लागेको हो। यस समूहमा विशाल बजार र साल्ट ट्रेडिङ गरी जम्मा दुई वटा कम्पनी रहेका छन् भने उच्च पूँजीकरणका कारण विशाल बजारले समूहलाई प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।

त्यस्तै, सिमेन्ट कम्पनीहरूको मूल्यवृद्धिले पनि उत्पादन तथा प्रशोधन समूहलाई उकास्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

कम्पनीगततर्फ हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ भने चिरख्वा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशतले घटेको छ। आज धेरै कारोबार हुने कम्पनीहरूको अग्रपंक्तिमा घलेम्दी हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी, अपि पावर, सानिमा बैंक र सानिमा मिडिल तमोर रहेका छन्। दसैं बिदापछि खुलेको पहिलो दिन बजारमा केही करेक्सन देखिए पनि आगामी दिनको कारोबारमा यसले कस्तो दिशा लिन्छ, त्यसतर्फ लगानीकर्ताहरूको नजर टिकेको छ।

सर्वाधिक सेयर मूल्य बढेका कम्पनीहरू (Top Gainers)

सि.नं. कम्पनीको नाम मूल्य वृद्धि प्रतिशत
१. बेनी हाइड्रोपावर १५.००%
२. माथिल्लो मैलुङखोला जलविद्युत ५.८१%
३. सोनापुर सिमेन्ट ५.०७%
४. सगरमाथा जलविद्युत् कम्पनी ४.७२%
५. घोराही सिमेन्ट ४.४७%
६. सानिमा मिडिल तमोर ३.८४%
७. सानिगढ हाइड्रो ३.७८%

सर्वाधिक सेयर मूल्य घटेका कम्पनीहरू (Top Losers)

सि.नं. कम्पनीको नाम मूल्य घटेको प्रतिशत
१. चिरख्वा हाइड्रोपावर ७.९२%
२. महिला लघुवित्त वित्तीय संस्था ७.५७%
३. गुराँस लघुवित्त ५.८१%
४. एसियन हाइड्रोपावर ४.३४%
५. अपोलो हाइड्रोपावर ४.१६%
६. शुभम् पावर ४.११%