10/26/2026, 10:01:21
सोमबार, कार्तिक १०, २०८३

सुनचाँदीको भाउमा गिरावट: स्थानीय बजारमा सुनको मूल्य तोलामा ११ हजार सात सय रुपियाँले घट्यो

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउमा भारी गिरावट आएको छ भने आगामी दिनमा मूल्य अझै घट्न सक्ने व्यवसायीहरूको अनुमान छ।


काठमाडौँ, कात्तिक ९ गते । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार सात सय रुपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभाव स्थानीय बजारमा परेको हो।

दसैँ बिदाअघि गत सोमबार प्रति तोला दुई लाख ९० हजार दुई सय रुपियाँ रहेको सुनको मूल्य घटेर आइतबार दुई लाख ७८ हजार पाँच सय रुपियाँमा कारोबार भएको छ। सेयर बजारमा देखिएको बिक्री चाप, कच्चा तेलको मूल्यवृद्धि र अमेरिकी डलरको दबाबजस्ता कारणहरूले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न थालेको हो।

सुुनचाँदी व्यवसायी तेजरत्न शाक्यका अनुसार रुस लगायतका ठूला देशले सुन बिक्री गर्न ल्याएका कारण मूल्यमा दबाब परेको छ। पछिल्लो एक साताको अवधिमा मात्रै अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य १८४ अमेरिकी डलरले घटेर तीन हजार ९९६ डलरमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको यो अस्थिरताका कारण आगामी दिनमा सुनको मूल्य प्रतिऔँस तीन हजार पाँच सय डलरमा झर्ने अनुमान गरिएको छ, जसले गर्दा स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई लाख ५० हजार रुपियाँसम्म पुग्न सक्ने देखिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला २३० रुपियाँले घटेको छ। गत सोमबार चार हजार १८५ रुपियाँमा कारोबार भएको चाँदी आइतबार घटेर तीन हजार ९५५ रुपियाँमा झरेको छ। स्मरण रहोस्, यसअघि २०८२ माघ १५ मा स्थानीय बजारमा सुनको मूल्य तोलामा तीन लाख ३९ हजार रुपियाँसम्म पुगेको थियो।

दसैँको बिदापछि आइਤबारदेखि बजार पसलहरू खुले पनि मूल्य घटेको भएपनि स्थानीय बजारमा अझै कारोबार भने अपेक्षकृत रूपमा बढ्न नसकेको व्यवसायीहरूको भनाइ छ।

विवरण तथ्य / जानकारी
सुनको मूल्यमा घटबढ तोलामा ११ हजार ७०० रुपियाँले घटेको (प्रतितोला रु. २,७८,५००)
चाँदीको मूल्यमा घटबढ प्रतितोला २३० रुपियाँले घटेको (प्रतितोला रु. ३,९५५)
अन्तर्राष्ट्रिय बजार (सुन) प्रतिऔँस ३,९९६ अमेरिकी डलरमा झरेको
मूल्य घट्नुको कारण सेयर बजारको बिक्री चाप, कच्चा तेलको मूल्यवृद्धि र डलरको दबाब
विशेष भनाइ तेजरत्न शाक्य (आगामी दिनमा सुनको मूल्य रु. २ लाख ५० हजारसम्म झर्न सक्ने अनुमान)