10/22/2026, 18:51:23
बिहिबार, कार्तिक ०६, २०८३

पोखरा–जोमसोम हवाई सेवा पाँच महिनाका लागि स्थगित, पर्यटकको चाप घटेको र मर्मतको कारण उडान बन्द

तारा र समिट एयरलाइन्सद्वारा नियमित उडान तालिका स्थगित; लुक्ला लगायत अन्य हिमाली जिल्लामा पर्यटकको चाप बढेपछि यताका विमान अन्यत्र सारिए।


मुस्ताङ, कात्तिक ५ गते । निजी वायुसेवा कम्पनीका ट्विनअटर विमानको नियमित मर्मत र पर्यटकको चाप घटेको कारण पोखरा–जोमसोम नियमित हवाई सेवा पाँच महिनाका लागि स्थगित गरिएको छ।

पोखराबाट जोमसोमका लागि नियमित उडान गर्दै आएका तारा एयरलाइन्स र समिट एयरलाइन्सले पर्यटकको सिजनमै हवाई उडान बन्द गरेका हुन्।

जोमसोम विमानस्थलका प्रमुख विश्वराज शर्माका अनुसार बाढीपहिरोका कारण अन्तर्राष्ट्रिय स्तरमा प्रवाह भएको गलत सन्देशले यस सिजनमा मुस्ताङमा यात्रुको चाप घटेको छ भने लुक्लालगायत अन्य हिमाली जिल्लामा पर्यटकको चाप बढी हुँदा विमानहरू त्यसतर्फ केन्द्रित भएका छन्।

नियमित उडान बन्द भए पनि चार्टर उडान भने जारी रहने विमानस्थलले जनाएको छ।