10/21/2026, 20:37:21
बुधबार, कार्तिक ०५, २०८३

भ्रष्टाचार, कुशासन र राजनीतिक व्यथिति हटाउन एकजुट हुन आवश्यक छ: प्रधानमन्त्री वालेन्द्र शाह

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा विजयादशमी–२०८३ को अवसरमा शुभकामना सन्देश जारी; परिवर्तनका लागि सोचसँगै व्यवहार बदल्नमा जोड।

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, कात्तिक ४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर प्रदान गर्ने बताएका छन्।

विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले वर्षौंसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता साट्ने र आपसी सद्भाव बढाउने महत्वपूर्ण अवसर जुराउने उल्लेख गरेका छन्।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री शाहले आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेका भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथितिहरूलाई परास्त गर्न तथा हरेक नागरिकलाई ‘हाम्रो लागि सरकार छ’ भन्ने वास्तविक अनुभूति गराउन सबै एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

पौराणिक मान्यता अनुसार दुर्गा भवानीले महिषासुर र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसंग कोट्याउँदै उनले इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतबाट मात्रै समाजका विकृतिहरू हटाउन सकिने धारणा व्यक्त गरेका छन्।

साथै, विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोचलाई परित्याग गरी आपसी सद्भाव, एकता, सम्मान र माया आदानप्रदान गर्न सबैलाई प्रेरित गर्ने विश्वास उहाँले व्यक्त गरेका छन्।