10/22/2026, 19:43:41
बिहिबार, कार्तिक ०६, २०८३

दसैँमा सुरक्षा निकायको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ जना नागरिक लाभान्वित

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा उपत्यकामा सञ्चालन गरिएको बस सेवाबाट सर्वसाधारणलाई आवतजावतमा सहजता; सार्वजनिक यातायातको मनपरी भाडा असुल्ने क्रममा रोक।


काठमाडौँ, कात्तिक ५ गते । दसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट ३ हजार ५८५ जना नागरिक लाभान्वित भएका छन्।

सार्वजनिक सवारीसाधनको अभाव र चापलाई मध्यनजर गर्दै सञ्चालन गरिएको यो सेवाले सर्वसाधारणको आवतजावतलाई सहज बनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार महानवमी र विजयादशमीका दिन तीन वटा बसमार्फत १ हजार ४०६ जनाले सेवा लिएका छन्।

त्यस्तै, सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्रले सञ्चालन गरेको बस सेवाबाट बुधबारसम्म २ हजार १७९ जनाले लाभ उठाएका छन्। शुक्रबारसम्म जारी रहने यो सेवाले चाडपर्वमा यात्रुलाई राहत पुर्‍याएको छ।